महेन्द्रनगर, धनुषा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा स्थानीय सरकार र नगर आप्रवासी श्रमिक सञ्जालबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित उक्त बैठकमा वैदेशिक रोजगारी, आप्रवासी श्रमिकको समस्या, सुरक्षित वैदेशिक रोजगार तथा पुनःएकीकरण सम्बन्धी विषयमा छलफल गरिएको थियो । बैठकमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव ले आप्रवासी श्रमिक र उनीहरूको परिवारको हितलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित शाखा तथा सञ्जालका पदाधिकारीलाई निर्देशन दिएका छन् । उनले वैदेशिक रोजगारमा जाने युवाहरूलाई सुरक्षित, सूचनामूलक र कानुनी प्रक्रियामार्फत मात्रै जान सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । नगर प्रमुख यादवले स्थानीय तह, वडा कार्यालय तथा आप्रवासी सञ्जालबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै श्रमिकको समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । उनले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई सीप, स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । बैठकमा वडा स्तरीय सञ्जालका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले वैदेशिक रोजगारका क्रममा भोग्नुपरेका समस्या, श्रमिकको अधिकार संरक्षण, सूचना प्रवाह तथा पुनःस्थापनाका विषयमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा आप्रवासी श्रमिकको हकहित संरक्षण तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech