काभ्रेपलाञ्चोक, झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी खत्रीका अनुसार बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–९ भिमानमा सवारी साधन जाँच गर्ने क्रममा काक्रोभित्र लागुऔषध लुकाई ल्याएको अवस्थामा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ पक्राउ परेका हुन् । बा ४ ख ५५०० नम्बरको हायसमा सवार श्रेष्ठले बोकेको रातो रङको झोलाभित्र शंकास्पद वस्तु देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा काँक्रोभित्र प्वाल बनाई खैरो हेरोइन लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थ प्रारम्भिक परीक्षणका क्रममा खैरो हेरोइन जस्तो देखिएको र मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीको भनाइ छ । दैनिक उपभोग्य वस्तुभित्र लागुऔषध लुकाएर ओसारपसार गर्ने नयाँ शैली बढ्दै गएको प्रहरीको भनाइ छ । घटनापछि श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सिन्धुली जिल्ला अदालत बाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech