महेन्द्रनगर, धनुषा समुदायस्तरमा न्यायप्रतिको पहुँच, जनचेतना तथा स्थानीय तह र न्यायालयबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित “समुदायसँग न्यायिक अन्तरसंवाद कार्यक्रम” धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा सम्पन्न भएको छ । उच्च अदालत जनकपुर द्वारा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय सरोकारवाला, कर्मचारी, शिक्षक, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमा देखिएका न्यायिक समस्या, मेलमिलाप, घरेलु हिंसा, जग्गा विवाद, सामाजिक सद्भाव तथा न्यायमा सहज पहुँचका विषयमा आफ्ना जिज्ञासा तथा धारणा प्रमुख अतिथिसमक्ष राखेका थिए । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुख्य न्यायाधीश टेक नारायण कुँवर सहभागी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश टेक नारायण कुँवरले न्यायालय केवल अदालत भित्र सीमित विषय नभई समुदायसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा भएको बताए । उनले स्थानीय तहमा न्यायिक समितिको प्रभावकारी परिचालन भए अदालतमा पुग्ने धेरै विवाद समुदायमै समाधान हुन सक्ने धारणा व्यक्त गरे । उनले भने, “न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित हुनु आवश्यक छ । स्थानीय तहका न्यायिक समितिहरूलाई थप प्रभावकारी, निष्पक्ष र जनउत्तरदायी बनाउनु आजको आवश्यकता हो । समुदायमै मेलमिलाप र समझदारीको संस्कृतिलाई विकास गर्न सके सामाजिक सद्भाव अझ बलियो बन्छ ।” मुख्य न्यायाधीश कुँवरले कानुनी सचेतनाको अभावका कारण धेरै नागरिकले समयमै न्याय पाउन नसकेको उल्लेख गर्दै विद्यालयस्तरदेखि नै कानुनी शिक्षा र नागरिक चेतना विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख सुखदेव यादवले स्थानीय सरकारले नागरिकलाई सहज र छिटो न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले न्यायिक समितिको क्षमतावृद्धि, मेलमिलापकर्ताको परिचालन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए । नगर प्रमुख यादवले भने, “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका समस्या पनि हामीले प्रत्यक्ष रूपमा सुन्ने अवसर पाउँछौं । समुदायस्तरमै विवाद समाधान गर्ने संस्कृतिलाई बलियो बनाउन यस्ता अन्तरसंवाद कार्यक्रम अत्यन्त आवश्यक छन् ।” त्यसैगरी रचना श्रेष्ठ माथेमा ले न्यायिक समितिमार्फत स्थानीय स्तरका धेरै विवाद मेलमिलापको माध्यमबाट समाधान हुँदै आएको बताइन् । उनले महिला, बालबालिका तथा कमजोर वर्गको न्यायमा पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको धारणा राखिन् । उनले भनिन्, “न्यायिक समितिमा आउने अधिकांश विवादलाई सहमति र मेलमिलापबाट समाधान गर्ने प्रयास भइरहेको छ । न्यायलाई केवल कानुनी प्रक्रियामा सीमित नराखी सामाजिक समन्वय र समझदारीसँग जोड्न आवश्यक छ ।” कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर यादव, इलाका प्रहरी कार्यालय महेन्द्रनगर का इन्चार्ज, विभिन्न वडाका वडाध्यक्ष, नागरिक समाजका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दिको उपस्थिति रहेको थियो । अन्तरसंवाद कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा न्याय सम्पादनका क्रममा देखिएका चुनौती, कानुनी परामर्शको आवश्यकता, घरेलु हिंसा नियन्त्रण, साइबर अपराधबारे जनचेतना तथा समुदायमा मेलमिलाप संस्कृतिको विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रमले समुदाय र न्यायालयबीचको सम्बन्धलाई थप नजिक बनाउनुका साथै नागरिकमा न्यायप्रतिको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने सहभागीहरूको विश्वास रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech