महेन्द्रनगर, धनुषा नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य सहित क्षिरेश्वरनाथ नगरपालिका ले एकीकृत स्वास्थ्य स्क्रिनिङ कार्यक्रम अन्तर्गत आँखा तथा कान सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाले विभिन्न वडामा पुगेर सञ्चालन गरिरहेको उक्त अभियानप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा विशेषज्ञ स्वास्थ्यकर्मीहरूको सहभागितामा सञ्चालन भइरहेको कार्यक्रममा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा स्वास्थ्य सेवा पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रममा सहभागीहरूको आँखा परीक्षण, दृष्टि जाँच, कान परीक्षण, श्रवण क्षमता परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको छ । नगरपालिकाका अनुसार ग्रामीण क्षेत्रका धेरै नागरिक सामान्य स्वास्थ्य समस्यासमेत समयमै परीक्षण गराउन नसक्दा दीर्घकालीन जटिलतामा पुग्ने गरेका छन् । त्यसैले समयमै रोग पहिचान गरी उपचार प्रक्रियामा जोड्ने उद्देश्यले समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । स्वास्थ्य परीक्षणका क्रममा मोतिबिन्दु, आँखाको दृष्टि कमजोर हुने समस्या, कान पाक्ने, कम सुन्ने तथा अन्य विभिन्न समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको स्वास्थ्य शाखाले जनाएको छ । आवश्यक परेका केही बिरामीलाई निःशुल्क औषधि तथा थप उपचारका लागि सहजीकरणसमेत गरिएको बताइएको छ । कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिँदै आँखा र कान सम्बन्धी समस्यालाई बेवास्ता नगर्न आग्रह गरेका छन् । समयमै परीक्षण र उपचार गरेमा धेरै प्रकारका स्वास्थ्य जटिलता रोकथाम गर्न सकिने उनीहरूको भनाइ छ । नगरपालिकाले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ । स्थानीयवासीहरूले गाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । स्वास्थ्य सेवा सहज रूपमा प्राप्त भएपछि विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठूलो राहत पुगेको स्थानीयहरूको भनाइ रहेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech