काठमाण्डौं निजी मिडियाप्रति सरकारी नीतिको विरोध गर्दै आएका विभिन्न सञ्चार गृहहरूले स्वतन्त्र पत्रकारिताको पक्षमा आफ्नो अभियानलाई निरन्तरता दिएका छन् । आज केही दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमै कलमको चिन्हभित्र “स्वतन्त्र प्रेसको रक्षा गरौं” र “लोकतन्त्रको सम्मान गरौं” भन्ने सन्देशसहित विभिन्न नाराहरू प्रकाशित गरेका छन् । यस अभियानमा मध्याह्न दैनिक, राजधानी दैनिक, आर्थिक अभियान दैनिक, मेचीकाली दैनिक लगायतका पत्रिकाहरू सहभागी भएका छन् । उनीहरूले “प्रेस स्वतन्त्रता कमजोर हुँदा नागरिक अधिकार पनि असुरक्षित हुन्छ” भन्ने सन्देशमार्फत स्वतन्त्र प्रेसको महत्व उजागर गरेका छन् । मिडिया एलायन्स र मिडिया सोसाइटीसँगको परामर्शमा स्वतन्त्र पत्रकारिताको अभियान अन्तर्गत यी सन्देशहरू प्रकाशित गरिएको मिडिया एलायन्सका सदस्य तथा मध्याह्न दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “स्वतन्त्र पत्रकारिता कसरी जोगाउन सकिन्छ भन्ने उद्देश्यले अभियान चलाइएको हो । मिडियामाथि कसैको हस्तक्षेप नहोस् र काम गर्न अप्ठ्यारो नपरोस् भन्ने हाम्रो चाहना हो ।” यसअघि गत चैत ३० गते देशभरका विभिन्न पत्रिकाहरूले विरोधस्वरूप पहिलो पृष्ठमा समाचार प्रकाशित नगरी केवल प्रश्नवाचक चिन्ह मात्रै छापेका थिए । उल्लेखनीय रूपमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १८ गते सूचना जारी गर्दै निजी सञ्चारमाध्यममा सार्वजनिक निकायका सूचना प्रकाशन नगर्न निर्देशन दिएको थियो । उक्त निर्णयविरुद्ध दायर मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech