काठमान्डौं हृदयेश त्रिपाठी ले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणप्रति दुई महत्वपूर्ण विषयमा फरक मत राखेका छन् । उनले नेपालजस्तो विविधतायुक्त मुलुकका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त नभएको बताएका छन् । त्रिपाठीका अनुसार यस्तो व्यवस्था अल्पसंख्यक समुदायका लागि घातक हुन सक्छ । साथै, उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीप्रति पनि असहमति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिलेको संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै नेपालका लागि उपयुक्त रहेको उल्लेख गरेका छन् । उनका अनुसार सैद्धान्तिक स्पष्टता बिना गरिएको एकता दीर्घकालीन रूपमा आत्मघाती हुन सक्छ । यसअघि गत २४ मंसिरमा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टी बीच एकीकरण भएको थियो । त्यसपछि पुस महिनामा लोसपा र जसपा नेपालबीच एकीकरण प्रक्रिया अघि बढेको थियो, जसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको छ । त्रिपाठीले भने जप्रपा र तमलोपालाई जानकारी नदिई जसपा–लोसपा एकीकरण गरिएको आरोप लगाएका छन् । साथै, तमलोपा हाल उक्त एकीकरण प्रक्रियाबाट बाहिरिसकेको पनि उल्लेख गरिएको छ । वृषेशचन्द्र लाल सहितको प्रयासबाट लोसपासँगको एकता सम्भव भएको त्रिपाठीको भनाइ छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech