काठमान्डौं, देशका विभिन्न जिल्लामा डुबेर तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सर्लाही जिल्ला, महोत्तरी जिल्ला र दाङ जिल्ला मा छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएका हुन् । मलंगवा नगरपालिका–२ झण्डा बजार नजिक रहेको पोखरीमा डुबेर पर्सा घर भई सोही स्थानमा डेरा गरी बस्दै आएका बाल्मिकी पण्डितकी ४ वर्षीया छोरी संयुक्ता प्रजापतीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान डुबेर अशक्त भएकी बालिकाको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी, लोहरपट्टी नगरपालिका–८ स्थित बिगही खोलामा डुबेर स्थानीय रजाबुल राईनका अन्दाजी १२ वर्षीय छोरा नौसाद राईनको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर भएका उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, राजपुर गाउँपालिका–१ गुरुङखोलाका ६० वर्षीय पुने रोका मगरको सोही स्थानस्थित गुरुङखोलामा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । प्रहरीका अनुसार तीनै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech