महेन्द्रनगर, क्षिरेश्वरनाथ नगरपालिका मा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित “युवा स्वरोजगार लक्षित वर्ग तथा अन्य वर्गका लागि सिप विकास तथा प्रविधि सहयोग कार्यक्रम” अन्तर्गत ५२ दिने सिलाई कटाई तालिमको मंगलवार औपचारिक रूपमा उद्घाटन गरिएको छ । सरकारद्वारा स्वरोजगार तथा सिप विकासलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत तालिमका लागि मिति २०८२÷०२÷२० गते सूचना प्रकाशन गरिएको थियो । सूचनापछि प्राप्त आवेदनहरू मध्ये योग्य सहभागी छनोट गर्न मिति २०८२÷०३÷१६ गते अन्तरवार्ता सञ्चालन गरिएको आयोजकले जनाएको छ । अन्तरवार्ताबाट छनोट भई आएका सहभागीहरूलाई आजदेखि औपचारिक रूपमा तालिममा सहभागी गराइएको हो । तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुखदेव यादव ले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले युवाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले शिक्षासँगै व्यवहारिक सीपको विकास हुन सके मात्र युवाहरूले आफ्नै ठाउँमा बसेर आयआर्जन गर्न सक्छन । यस्ता तालिमले बेरोजगारी न्यूनीकरण गर्न र महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । नगर प्रमुख यादवले सहभागीहरूलाई तालिम अवधिभर अनुशासित र नियमित रूपमा सहभागी भई सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । साथै स्थानीय तहले आगामी दिनहरूमा पनि स्वरोजगारमूलक तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमप्रति उत्साह व्यक्त गर्दै यसले आफ्नो जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । तालिम अवधिभर सहभागीहरूलाई आधुनिक सिलाई कटाई, कपडा डिजाइन, मापन विधि, मेसिन सञ्चालन तथा व्यावसायिक उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने बताइएको छ । आयोजकका अनुसार तालिम सम्पन्न भएपछि सहभागीहरूलाई स्वरोजगार तर्फ उन्मुख गराउने तथा साना उद्योग स्थापना गर्न प्रेरित गर्ने उद्देश्य राखिएको छ । स्थानीय स्तरमै उत्पादन तथा उद्यमशीलता प्रवद्र्धन गर्दै युवालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech