महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत रहेको श्री माध्यमिक विद्यालय कुम्हरौल रमदैया भवाडीमा आठ कोठा सहितको दुई तल्ले पक्की भवन निर्माण कार्य सुरु गरिएको छ । करिब ८० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास आज नगर प्रमुख सुखदेव यादवले विधिवत पूजा–पाठ गरी सम्पन्न गरेका छन् । आयोजना सूचना पार्टी अनुसार निर्माण कार्य मिति २०८३ साल कार्तिक ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुने र विद्यार्थीहरूलाई सहज तथा व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिस यादव, वडा नं. २ का अध्यक्ष देवु यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य संजय खत्वे लगायतका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । त्यस्तै, पूर्व वडा अध्यक्ष श्याम यादव, विद्यालयका प्रधानाध्यापक मनोज कुमार महतो, शिक्षक–शिक्षिका, पूर्व प्रधानाध्यापक मजिद राईन तथा जेएनजी युवा नेता नागेन्द्र यादव सहित स्थानीय बुद्धिजीवी तथा अभिभावकहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख यादवले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक संरचना सुधारमा नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगदिस यादवले नयाँ भवन निर्माणले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले भने, “विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका लागि राम्रो वातावरण आवश्यक हुन्छ । यो भवन निर्माण भएपछि कक्षा सञ्चालन अझ व्यवस्थित र प्रभावकारी हुनेछ । साथै उनले निर्माण कार्य समयमै सम्पन्न गर्न सबै पक्षले समन्वय गर्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष देवु यादवले शिक्षा क्षेत्रको विकासलाई वडा कार्यालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै यस भवन निर्माणलाई सकारात्मक उपलब्धि भने । उनले भने, “यो भवन केवल संरचना मात्र होइन, हाम्रो भविष्य निर्माण गर्ने आधार हो । आगामी दिनमा पनि विद्यालयको आवश्यकता अनुसार सहयोग जारी रहनेछ । उनले गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरे । प्रधानाध्यापक मनोज कुमार महतोले नयाँ भवन निर्माणले शिक्षण सिकाइ प्रक्रियामा ठूलो सुधार आउने विश्वास व्यक्त गरे । अब नयाँ भवनले पर्याप्त कक्षा कोठा उपलब्ध गराउनेछ र सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउनेछ । उनले नगरपालिका तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्दै निर्माण कार्य छिटो सम्पन्न हुने अपेक्षा व्यक्त गरे । स्थानीयवासीहरूले पनि नयाँ भवन निर्माणले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech