महेन्द्रनगर, “श्रमको सम्मान, राष्ट्रको अभियान—समृद्ध नेपाल निर्माणमा श्रमिकको योगदान” भन्ने नाराका साथ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । आप्रवासी श्रमिक सञ्जालका अध्यक्ष प्रवोध यादवको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रमिकहरूको हक, अधिकार र योगदानबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेव यादवले श्रमिकहरू राष्ट्र निर्माणका मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो जिम्मेवारी भएको बताए । उनले भने “हामीले देख्ने विकासका हरेक पूर्वाधार, सडक, भवन र सेवा श्रमिकको पसिना र परिश्रमबाट निर्माण भएका हुन् । त्यसैले श्रमिकको सम्मान नगरी समृद्ध नेपाल निर्माणको कल्पना गर्न सकिँदैन । स्थानीय सरकारले श्रमिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । त्यसैगरी कार्यक्रमका अध्यक्ष प्रवोध यादवले श्रमिकहरू अझै पनि विभिन्न प्रकारका समस्यासँग जुध्न बाध्य रहेको उल्लेख गर्दै राज्य तथा सरोकारवाला निकायले उनीहरूको हकहित संरक्षणमा थप जिम्मेवार बन्नुपर्ने बताए । उनले भने “देशभित्र र विदेशमा काम गर्ने श्रमिकहरूले धेरै जोखिम मोलेर राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका छन् । तर उनीहरूको सामाजिक सुरक्षा, बीमा, न्यूनतम पारिश्रमिक र सम्मान अझै सुनिश्चित हुन सकेको छैन । यसतर्फ सबैले गम्भीर ध्यान दिन आवश्यक छ । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ का अध्यक्ष अवध किशोर यादवले स्थानीय तहले श्रमिकमैत्री वातावरण निर्माण गर्न पहल गरिरहेको बताए भने जिल्ला आप्रवासी श्रमिक सञ्जालका अध्यक्ष दुखरन यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षाका लागि सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । त्यस्तै रेमी हेल्भेटासका कार्यक्रम अधिकृत रामकुमार कर्ण, आप्रवासीकी दयावन्ती साह लगायतले श्रमिकको क्षमता अभिवृद्धि, सुरक्षित वैदेशिक रोजगारी र सामाजिक सुरक्षामा जोड दिएका थिए । कार्यक्रममा रेमी हेल्भेटासका कर्मचारी, नगर आप्रवासी श्रमिक सञ्जालका सदस्यहरू तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । अन्त्यमा श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech