दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत पर्ने जलाद खोला लगायत विभिन्न खोलाहरूमा सेटिङको आधारमा अवैध उत्खनन भइरहेको स्थानीयले आरोप लगाएका छन् । उत्खननमा संलग्न ट्याक्टर चालकहरूले समेत “सेटिङ मिलाएर काम भइरहेको” खुलासा गरे पनि सम्बन्धित निकाय भने अहिलेसम्म मौन बसेका छन् ।
स्थानीयका अनुसार खोलाबाट ढुंगा, गिटी र बालुवा जथाभावी निकालिँदा वातावरणीय सन्तुलनमा प्रत्यक्ष असर पर्न थालेको छ । तर उत्खनन गराउने व्यक्तिहरूको नाम सार्वजनिक हुँदा पनि कारबाही नहुनु र अनुगमनको अभाव देखिनुले सरकारी संयन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ ।
यसैबीच, चुरे क्षेत्रमा भइरहेका अवैध उत्खनन र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै “The Council of Green Generation Nepal” ले सरकारको ध्यानाकर्षण गराएको छ । परिषद्ले गृहमन्त्रीसमक्ष बुझाएको पत्रमा चुरे क्षेत्र नेपालको अत्यन्त संवेदनशील पर्यावरणीय क्षेत्र भएकाले यहाँको दोहनले दीर्घकालीन असर पार्ने उल्लेख गरिएको छ ।
पत्रमा अनियन्त्रित उत्खननका कारण भूक्षय बढ्दै गएको, बाढी–पहिरोको जोखिम तीव्र बन्दै गएको र स्थानीय बासिन्दाको जीवनमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको औंल्याइएको छ । साथै, सम्बन्धित निकायहरूको कमजोर अनुगमन र प्रभावहीनताका कारण अवैध गतिविधि झन् मौलाउँदै गएको परिषद्को भनाइ छ ।
परिषद्ले सरकारसमक्ष पाँच बुँदे माग पनि अघि सारेको छ । जसअनुसार चुरे क्षेत्रमा भइरहेका सम्पूर्ण अवैध उत्खनन कार्य तत्काल रोक्नुपर्ने, मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरी कानुनी कारबाही गर्नुपर्ने, दोषी व्यक्ति तथा संस्थामाथि कडा कारबाही गर्नुपर्ने, अनुगमन प्रणाली सुदृढ बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने तथा चुरे संरक्षणका लागि दीर्घकालीन, कडा र व्यवहारिक नीति लागू गर्नुपर्ने माग गरिएको छ ।
परिषद्का उपसंयोजक जितेन्द्र प्रताप सिंहद्वारा हस्ताक्षरित उक्त पत्रमा समयमै ठोस कदम नचालिए चुरे क्षेत्रमा हुने वातावरणीय तथा मानवीय क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिइएको छ ।
स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मको समन्वय र कडाइबिना यस्तो अवैध उत्खनन नियन्त्रण गर्न कठिन हुने देखिएको छ । अहिलेको अवस्थामा तत्काल अनुगमन र कारबाही अघि नबढाइए चुरे क्षेत्रको संरक्षणमा गम्भीर चुनौती थपिँदै जाने विज्ञहरूको चेतावनी छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग