महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले लामखुटे नियन्त्रणलाई प्राथमिकतामा राख्दै वडा नम्बर १ देखि धुँवासहितको औषधी छर्किने अभियान औपचारिक रूपमा सुरु गरेको छ । गर्मीयामसँगै लामखुटेको प्रकोप बढ्ने र त्यसबाट डेंगु, मलेरिया लगायतका रोग फैलिने जोखिम उच्च हुने भएकाले नगरपालिकाले समयमै सतर्कता अपनाउँदै यो अभियान सञ्चालनमा ल्याएको हो । नगर प्रमुख सुखदेव यादवका अनुसार लामखुटे नियन्त्रणका लागि नगरपालिकाले सुरुदेखि नै तयारी गरेको भए पनि केही कानुनी प्रक्रिया र व्यवस्थापन सम्बन्धी बाध्यताका कारण अभियान सुरु गर्न केही ढिलाइ भएको हो । उनले भने, “हामीले सुरुदेखि नै यो विषयलाई गम्भीर रूपमा लिएका थियौं, तर कानुनी प्रक्रियाले केही समय लियो । अब भने व्यवस्थित रूपमा सबै वडामा अभियान सञ्चालन गर्नेछौं । उनका अनुसार औषधी छर्किनुका साथै लामखुटेको लार्भा नष्ट गर्न विशेष योजना तयार गरिएको छ । विशेषगरी घर वरिपरि जमेको पानी, खाल्डाखुल्डी, टायर, ड्रम, तथा अन्य भाँडाकुँडामा जमेको पानीमा लार्भा हुर्कने भएकाले त्यस्ता स्थानमा नियमित रूपमा औषधी प्रयोग गरिनेछ । नगरबासीलाई पनि आफ्नो घर वरपर सफा राख्न र पानी जम्न नदिन अनुरोध गरिएको छ । नगरपालिकाले विगत वर्षहरूमा पनि प्रत्येक वडामा धुँवासहितको औषधी छर्किने कार्य गर्दै आएको थियो । यस वर्ष भने थप प्रभावकारी र व्यवस्थित ढंगले अभियान सञ्चालन गर्ने लक्ष्य लिइएको छ । प्रत्येक वडामा समय तालिका बनाएर प्राविधिक टोली परिचालन गरिएको छ, जसले चरणबद्ध रूपमा सबै क्षेत्रमा औषधी छर्किनेछ । नगर प्रमुख यादवले आगामी दिनमा लामखुटेबाट हुने रोगको जोखिम कम गर्न अति विपन्न परिवारलाई सुपानेट सहितको मच्छरदानी वितरण गर्ने योजना पनि रहेको जानकारी दिए । “हामीले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरेर मच्छरदानी वितरण गर्ने योजना बनाएका छौं । स्रोत र समय अनुकूल भएमा यो कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउनेछौं,” उनले भने । यसैबीच, नगर प्रमुख यादवले नगरपालिकाको समग्र विकास र सेवा प्रवाहमा केही चुनौतीहरू रहेको पनि स्वीकार गरेका छन् । उनले कार्यपालिकामा आफ्नो बहुमत नभएको कारण आफूले चाहेजस्तो निर्णय गर्न र कार्यक्रम अघि बढाउन कठिनाइ भइरहेको बताए । “हामीसँग जनताका लागि धेरै योजना छन्, तर कार्यपालिकाको अन्तिम निर्णयमा भर पर्नुपर्ने भएकाले सबै योजना तत्काल कार्यान्वयन गर्न सकिएको छैन,” उनले गुनासो गरे । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले सुगर (मधुमेह) र प्रेसर (उच्च रक्तचाप) जस्ता दीर्घरोगका बिरामीका लागि निःशुल्क औषधी वितरण गर्ने योजना पनि अघि सारेको छ । नगर प्रमुख यादवका अनुसार नगर क्षेत्रमा यस्ता बिरामीको संख्या बढ्दो अवस्थामा रहेको छ, जसका कारण सर्वसाधारणलाई राहत दिने उद्देश्यले यस्तो योजना ल्याइएको हो । तर, उक्त योजना पनि कार्यपालिकाको स्वीकृतिमा निर्भर रहने उनले स्पष्ट पारे । नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै लामखुटे नियन्त्रण, सरसफाइ, तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । साथै, नगरबासीलाई सरसफाइमा ध्यान दिन, पानी जम्न नदिन र लामखुटे नियन्त्रणमा सहयोग पु¥याउन अपिल गरिएको छ । यस अभियानले नगर क्षेत्रमा लामखुटेको संख्या घटाउने र त्यसबाट फैलिने रोगको जोखिम कम गर्ने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech