दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमीले आफ्नो २५औं वार्षिकोत्सव शनिबार भव्य, आकर्षक तथा सन्देशमूलक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक जगदिस प्रसाद सिंहको अध्यक्षता तथा नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटनसँगै विद्यालयको २५ वर्षे शैक्षिक यात्रा, उपलब्धि र योगदानबारे प्रकाश पारिएको थियो । वक्ताहरूले विद्यालयले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मध्ये शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै, विद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई पनि विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको विविध सांस्कृतिक कार्यक्रमहरू रहेका थिए । नृत्य, गीत, नाटक लगायतका प्रस्तुतीहरूले कार्यक्रमलाई जीवन्त बनाएका थिए । विशेषगरी दहेज प्रथाका कारण समाजमा देखिएको विकृति, महिला हिंसा तथा सामाजिक असमानता जस्ता विषयलाई समेटेर प्रस्तुत गरिएको नाटकले दर्शकहरूको मन छोएको थियो । उक्त नाटकले सामाजिक सुधारको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।
यसैबीच, कार्यक्रमका दौरान विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका थिए, जसले अभिभावकहरूलाई समेत गर्वान्वित बनाएको देखिन्थ्यो । अभिभावकहरूले विद्यालयले पढाइसँगै व्यवहारिक तथा नैतिक शिक्षामा समेत ध्यान दिएको भन्दै प्रशंसा गरेका थिए ।
शनिबार आयोजित कार्यक्रम मौसमको प्रतिकूलताका कारण केही समय प्रभावित भए पनि विद्यालयको व्यवस्थापन र आयोजक टोलीको सक्रियताले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ ।
२५औं वार्षिकोत्सवले विद्यालयको विगतका उपलब्धिहरूको स्मरण गराउँदै भविष्यमा अझ उत्कृष्ट शैक्षिक संस्था बन्ने संकल्प समेत व्यक्त गरेको छ । विद्यालयले आगामी दिनमा आधुनिक प्रविधिमैत्री शिक्षा, अनुशासित वातावरण र गुणस्तरीय सिकाइलाई प्राथमिकता दिने जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग