महेन्द्रनगर, धनुषा अगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कम्यूनिष्ट पार्टी ले धनुषा क्षेत्र नं.४ अन्तर्गत पर्ने मिथिला बिहारी नगरपालिका वडा नं. ८ मा वडा स्तरीय भेला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा धनुषा क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार संजय कुमार महतो तथा पार्टीका नेता एवं पूर्व मन्त्री सत्रुधन महतो ले सम्बोधन गरेका थिए । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार महतोले जनताको अपेक्षा पूरा गर्ने स्पष्ट योजना सहित आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले धनुषा क्षेत्र नं.४ को समग्र विकास, कृषि, शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले भने, “विकासका कामलाई तीव्र गतिमा अघि बढाउन अब सक्षम र इमानदार नेतृत्व आवश्यक छ । जनताको विश्वास जितेर विजयी भएमा म क्षेत्रको हरेक गाउँ–टोलमा पुगेर जनतासँगै बसेर काम गर्नेछु । महतोले युवाहरूका लागि रोजगारी सिर्जना, किसानका लागि सिंचाइ सुविधा विस्तार र सामाजिक सुरक्षालाई सुदृढ बनाउने विषयमा पनि जोड दिएका थिए । त्यस्तै पूर्व मन्त्री महतोले संगठन सुदृढीकरण र एकताबद्ध अभियान सञ्चालनमा जोड दिँदै पार्टीका उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे । उनले भने, “धनुषा क्षेत्र नं.४ को समृद्धिका लागि योजनाबद्ध विकास आवश्यक छ । त्यसका लागि जनताप्रति उत्तरदायी र काम गर्ने नेतृत्व चाहिन्छ । संजय कुमार महतो सक्षम उम्मेदवार हुनुहुन्छ, उहाँलाई विजयी गराउनु आजको आवश्यकता हो । उनले अनुशासित र सकारात्मक चुनावी अभियान सञ्चालन गर्न आग्रह गर्दै जनताको घरदैलोमा पुगेर पार्टीको नीति तथा कार्यक्रम बुझाउन निर्देशन दिए । कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले समेत क्षेत्रको विकासका लागि एकजुट भई पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech