धनुषा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार मात्रिका प्रसाद यादवले मतदातासँग अर्शिवाद र साथको अपिल गरेका छन्। घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उनले “मलाई एक पटक अवसर दिनुस्, काम गरेर देखाउँछु” भन्दै विकास र समृद्धिको प्रतिबद्धता जनाएका हुन्। उम्मेदवार यादवले विगतका अधुरा योजनाहरूलाई पूर्णता दिने, क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र सिँचाइ जस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “राजनीति केवल भाषणका लागि होइन, जनताको विश्वास जितेर काम गर्ने माध्यम हो। धनुषा क्षेत्र नं. १ को समग्र विकासका लागि म निरन्तर लागिपर्नेछु।” उनले युवाहरूलाई रोजगारी सिर्जना, कृषकलाई आधुनिक कृषि प्रणाली र बजार व्यवस्थापन, तथा महिला सशक्तिकरणका कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्ने योजना सुनाए। “हामी विकासका ठूला नाराभन्दा पनि साना–साना तर प्रभावकारी काममार्फत जनताको जीवनस्तर उकास्न चाहन्छौं,” उनले जोड दिए। कार्यक्रममा उपस्थित स्थानीयवासीले क्षेत्रको विकासका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउँदै उम्मेदवार यादवप्रति समर्थन जनाएका थिए। आफ्नो सम्बोधनको अन्त्यमा यादवले भने, “धनुषा क्षेत्र नं. १ लाई नमूना क्षेत्र बनाउन तपाईँहरूको अर्शिवाद चाहिन्छ। विश्वास गर्नुस्, म काम गरेर देखाउँछु।”
Copyright © 2026, All Rights Reserved | Developed By ProTech