महेन्द्रनगर, धनुषा करदाता सेवामा थप सहजता, सरकारको प्रतिवद्धता भन्ने मूल नारालाई आत्मसात गर्दै धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा साविक करदाता कार्यालयबाट प्रदान हुँदै आएको सेवा अब क्षिरेश्वरनाथ नगरपालिकाबाटै प्रदान गर्ने कार्यको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरिएको हो । नगरपालिकामै करदाता सेवा उपलब्ध भएसँगै अब स्थानीय करदाताहरूलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुखदेव यादवले करदाता सेवाको विकेन्द्रीकरणले स्थानीय नागरिक, व्यवसायी तथा उद्यमीहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो कर तिर्ने नागरिकलाई सहज, छरितो र पारदर्शी सेवा दिनु सरकारको प्रमुख दायित्व हो । नगरपालिकाबाटै करदाता सेवा उपलब्ध गराइनु स्थानीय सरकार र संघीय सरकारबीचको सहकार्यको सकारात्मक उदाहरण हो । यसले समय, खर्च र झन्झट कम गर्दै कर प्रणालीप्रति नागरिकको विश्वास बढाउनेछ । नगर प्रमुख यादवले कर तिर्ने संस्कृतिको विकासले नगरको समग्र विकासमा टेवा पुग्ने उल्लेख गर्दै सबै करदातालाई इमान्दारीपूर्वक कर तिर्न आग्रहसमेत गर्नुभयो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका निर्देशक मदन दाहालले करदाता सेवा स्थानीय तहबाटै सञ्चालन हुनु संघीयताको मर्मअनुसारको कदम भएको बताउँदै सेवा प्रभावकारी बनाउन कार्यालय सदैव सहकार्यका लागि तयार रहेको बताउनुभयो । उक्त कार्यक्रममा क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रदास यादव, वडा नम्बर २ का अध्यक्ष देवु यादव, वडा नम्बर ३ का अध्यक्ष जय किशोर सिंह, वडा नम्बर ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, कार्यपालिका सदस्य दीपक साह लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले करदाता सेवा नगरपालिकाबाट सञ्चालनमा आएसँगै कर प्रशासन थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरेका थिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech