दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,धनुषा
सरस्वती पूजा नजिकिँदै जाँदा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित मूर्तिकारहरू सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छन् । विगत करिब ३५ वर्षदेखि निरन्तर रूपमा मूर्ति निर्माण गर्दै आएका मूर्तिकार विनोद पण्डित सरस्वती पूजा आउनुभन्दा करिब दुई महिना अगाडि देखि नै मूर्ति बनाउन थाल्ने गरेको बताउनुहुन्छ ।
मूर्तिकार पण्डितले सुरुका दिनमा एक सय रुपैयाँको दरले मूर्ति बिक्री गर्दै आएको स्मरण गर्दै अहिले एउटा मूर्ति पाँच हजार रुपैयाँमा बिक्री हुँदा समेत नाफा न्यून हुने गरेको बताउनुभयो । उहाँका अनुसार हाल मूर्ति बनाउन प्रयोग हुने कच्चा पदार्थहरू पहिलेको तुलनामा निकै महँगा भएका छन् ।
आफ्नो मुख्य पेशा नै मूर्ति बनाउने रहेको बताउँदै पण्डितले वर्षभरि विभिन्न पूजापर्वको आवश्यकता अनुसार मूर्ति निर्माण गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मूर्ति विश्वकर्मा पूजाको समयमा बिक्री हुने गर्दछ । हाल सरस्वती पूजाको समय नजिकिँदै गएकाले सरस्वतीको मूर्ति निर्माणमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।
हाल केही मूर्तिहरू अर्डरअनुसार बनाइएका छन् भने केही मूर्तिहरू आफैंले तयार गरेको बताउँदै उहाँले सबै मूर्ति बिक्री हुने विश्वास व्यक्त गर्नुभयो । अहिले तीन हजार रुपैयाँदेखि २४ हजार रुपैयाँसम्मका मूर्तिहरू उपलब्ध रहेको र अर्डर दिएमा ३० हजार रुपैयाँसम्मको मूर्ति बनाउन सकिने मूर्तिकार पण्डितले जानकारी दिनुभयो ।
सरस्वती पूजा नजिकिँदै जाँदा स्थानीय बजारमा मूर्तिको माग बढ्दै गएको छ भने परम्परागत पेशा जोगाउँदै आएका मूर्तिकारहरूको व्यस्तता पनि बढेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग