महेन्द्रनगर,धनुषा धनुषाको मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन हुने भएको छ । नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाट प्रदान गर्ने निर्णय अनुसार नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन गर्न लागिएको हो । मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले नगरपालिका र आन्तरिक राजस्व विभागबीच आवश्यक सम्झौता भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार मधेश प्रदेशमै स्थानीय तहबाट आन्तरिक राजस्व सेवा सञ्चालन गर्ने पहिलो नगरपालिका मिथिला नगरपालिका बनेको छ । नगर प्रमुख महतोले आउँदो सातादेखि आन्तरिक राजस्व कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने बताउनुभयो । कार्यालय सञ्चालनमा आएपछि नगरपालिकाभित्रका व्यवसायी, उद्योगी तथा सरोकारवालाले कर दर्ता, कर बुझाउने, विवरण अद्यावधिक तथा करसम्बन्धी परामर्शलगायत सेवा सहज र छिटो पाउने उहाँको भनाइ छ । यसअघि करसम्बन्धी सेवा लिनका लागि जनकपुर स्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता रहेकाले समय र खर्च बढी लाग्ने तथा सर्वसाधारणलाई असहज हुने गरेको थियो । अब भने नगरपालिकाकै कार्यालयबाट करदाता सेवा उपलब्ध हुने भएकाले समय र खर्च दुवैको बचत हुने नगर प्रमुख महतोले बताउनुभयो । नगर प्रमुख महतोले नागरिकलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थानीय तहमा विभिन्न सरकारी सेवा विस्तार गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले मालपोत र नापी कार्यालय विगत डेढ वर्षदेखि मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवरमा सञ्चालनमा रहेको जानकारी दिँदै इलाका प्रशासन कार्यालय स्थापनाका लागि समेत पहल भइरहेको बताउनुभयो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech