काठमाडौं —
नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकिकरण सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरिएको छ । दुवै पार्टीले आगामी दिनमा राजनीतिक शक्ति, संगठनात्मक एकता र साझा दृष्टिकोणलाई बलियो बनाउने उद्देश्य राख्दै सहमति गरेको जनाइएको छ ।
सहमति पत्रअनुसार, विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी बहन गर्दा देखिएका कमजोरीहरू सच्याउँदै सामाजिक न्याय, सुशासन र समानुपातिक सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । साथै, मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूराजनीतिक सुरक्षा कायम राख्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई सबल बनाउने नीति तय गरिएको छ ।
सहमति अनुसार दुवै पार्टीले आफ्नो संगठनात्मक संरचनामा समन्वय गर्दै नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने निर्णय गरेको छ । स्थानीय, प्रदेश र संघीय स्तरका निर्वाचित जनप्रतिनिधिहरू स्वतः नयाँ पार्टीका सदस्य हुनेछन् ।
यसैगरी, सहमति पत्रमा सामाजिक समावेशीकरण, महिला, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्ने, श्रमिक वर्ग र उत्पीडित समुदायबीच एकता जोड्ने र राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने उल्लेख गरिएको छ ।
पार्टीहरूका तर्फबाट रञ्जना श्रेष्ठ (अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी), माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग