महेन्द्रनगर,धनुषा ः धनुषाको वटेश्वर गाउँपालिका वडा नम्बर ५ मा आयोजित वार्डकप क्रिकेट प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरु भएको छ । वडा नम्बर ५ को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष शिव करण यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राम अशिष महतोको प्रमुख आतिथ्यतामा विधिवत रूपमा गरिएको हो । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फुल कुमारी सिंह, प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेल, यूवा नेता अजय कुमार राउत लगायत विभिन्न जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिथिहरूले प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा आपसी सद्भाव र एकता बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष राम अशिष महतो यस प्रतियोगिताले स्थानीय युवाहरूमा खेलप्रतिको रुचि र क्षमता अभिवृद्धि गर्न मद्दत पु¥याउनेछ । खेलमार्फत युवाहरूमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास हुनेछ । हामी सबै खेलाडी र टोलीप्रति शुभकामना व्यक्त गर्दछौं । त्यस्तै गाउँपालिका उपाध्यक्ष फुल कुमारी सिंहले खेलकुदले मात्र स्वास्थ्य र फुर्तिलो शरीर दिन्छ भन्ने होइन, यसले युवाहरूलाई सामाजिक एकता र आपसी समझदारीमा पनि सशक्त बनाउँछ । म प्रतियोगितामा सहभागी सबै टोलीलाई उत्साहका साथ खेल्न प्रेरित गर्दछु । कार्यक्रम आयोजना गरिएको वडा कार्यलायका अध्यक्ष शिव करण यादवले वडा नं ५ को तर्फबाट आयोजना गरिएको वार्डकप क्रिकेट प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई चिनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ । हामीले विजेता तथा उपविजेतालाई सम्मानका साथ पुरस्कृत गर्ने व्यवस्था गरेका छौं । सबै खेलाडीलाई अनुशासित र मर्यादित खेलका लागि आग्रह गर्दछु । प्रतियोगिताको उद्घाटन खेल कपटौल र बेंगा टिमबीच सम्पन्न भएको थियो । रोमाञ्चक प्रतिस्पर्धामा बेंगा टिमले कपटौललाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका बेंगा टिमका खेलाडी रघु ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँसहित सिल तथा उपविजेता टिमलाई नगद ५१ हजार रुपैयाँ र कप प्रदान गरिने व्यवस्था गरिएको छ । आयोजकले प्रतियोगिता मर्यादित, अनुशासित र उत्साहजनक वातावरणमा सम्पन्न हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech