धनुषा,महेन्द्रनगर महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विभिन्न ५ बुँदे मागसहित प्रदर्शन गरेको छ । महाअभियानले मिटरव्याज तथा अनुचित लेनदेन सम्बन्धी समस्याको समाधान, न्याय र कारबाहीको प्रक्रिया तीव्र पार्न माग गर्दै जलेश्वरका विभिन्न भागको परिक्रमा गरेको हो । महाअभियानले मिति २०८२ कार्तिक २३ गते गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयहरूलाई पठाइएको अनुचित लेनदेन सम्बन्धी जिल्ला स्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धी निर्णयपत्र तत्काल कार्यान्वयन गर्न माग गरेको छ । साथै, उक्त निर्णयपत्रको बुँदा नम्बर ३ अनुसार अनुचित लेनदेन सम्बन्धी विषयमा समग्र निर्देशन, समन्वय तथा सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, जिल्ला न्यायाधिवक्ता र जिल्ला प्रहरी प्रमुख सदस्य रहने गरी गठन गरिने अनुचित लेनदेन सम्बन्धी समन्वय तथा सहजीकरण समिति मा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको प्रतिनिधि अनिवार्य रूपमा समावेश गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी, मिटरव्याज तथा अनुचित लेनदेनसम्बन्धी घटनामा पीडक र पीडित दुवै पक्षलाई छलफलमा राखी छिटोछरितो रूपमा न्याय र कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने, पीडितलाई तत्काल राहत र संरक्षणको व्यवस्था गर्नुपर्ने तथा यस्ता घटनाको स्थायी समाधानका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग पनि महाअभियानले अघि सारेको छ । प्रदर्शनपछि जलेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जनकपुर अञ्चल प्रवक्ता हरदेव महतोले मिटरव्याज र अनुचित लेनदेनका कारण सर्वसाधारण नागरिकहरू आर्थिक, सामाजिक र मानसिक रूपमा पीडित भइरहेको बताए । उनले राज्यले बनाएका निर्णय र संयन्त्रहरू कागजमै सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । “अनुचित लेनदेनका कारण धेरै परिवार उजाडिएका छन्, पीडितले न्याय पाउन ढिलाइ हुनु आफैंमा अन्याय हो,” महतोले भने, “निर्णयपत्र तत्काल कार्यान्वयन गरी पीडितलाई न्याय र दोषीलाई कडा कारबाही गरिनुपर्छ । महाअभियानले आफ्ना मागहरू तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech