काठमाडौं । निर्वाचन आयोगले आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात जना माननीय जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको २०८२ पुस ७ गतेको बैठकले उक्त निर्णय गरेको हो । नियुक्त निर्वाचन अधिकृतहरू २०८२ पुस १५ गतेदेखि लागू हुने गरी कार्यभार सम्हाल्ने छन् । आयोगका अनुसार पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भिमराज प्रसाई, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका शुभनाथ पुरी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतकी गीता श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका हिमाल देवकोटा, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका प्रकाश प्रसाद पण्डित, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका दीपक ढकाल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका भवानी सिंह थापा निर्वाचन अधिकृत नियुक्त भएका छन् । नियुक्त निर्वाचन अधिकृतहरूको कार्यालय क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, घोराही, वीरेन्द्रनगर र धनगढीमा रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा राष्ट्रिय सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक तयारी अगाडि बढाइएको उल्लेख गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech