दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा
तराई क्षेत्रमा समयसँगै ओझेलमा पर्दै गएको परम्परागत खेल कुस्ती (पहल्मानी) लाई पुनर्जीवित गर्ने उद्देश्यले धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीमा पहल्मानी अखाडा सञ्चालनमा ल्याइएको छ । स्थानीय समाजसेवी ब्रह्मदेव यादवको सक्रिय पहलमा सुरु गरिएको उक्त अखाडाले स्थानीय स्तरमै कुस्ती खेलको अभ्यास, संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
परम्परागत रूपमा तराई–मधेश क्षेत्रमा कुस्ती लोकप्रिय खेलका रूपमा परिचित भए पनि आधुनिक खेल र प्रविधिको प्रभावका कारण पछिल्ला वर्षहरूमा यसको अभ्यास घट्दै गएको थियो । यही अवस्थालाई ध्यानमा राख्दै स्थानीय युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने तथा लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले पहल्मानी अखाडाको सुरुवात गरिएको ब्रह्मदेव यादवले जानकारी दिए ।
उनका अनुसार विगत केही वर्षअघि सपहीमा आयोजना भएको झण्डा मेलामा स्थानीय पहलमान सत्यनारायण यादवले कुस्तीमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनले गाउँमै पर्याप्त सम्भावना र प्रतिभा रहेको स्पष्ट भएपछि यदि नियमित अभ्यास, अनुशासन र सही मार्गदर्शन प्रदान गरियो भने यहाँका पहलमानहरूले देश तथा विदेशमा समेत आफ्नो पहिचान बनाउन सक्ने विश्वास बढेको हो । त्यसै सोचलाई मूर्तरूप दिन पहल्मानी अखाडा सञ्चालनमा ल्याइएको उनले बताए ।
हाल अखाडामा प्रत्येक दिन बिहान स्थानीय पहलमानहरूको नियमित अभ्यास गराइँदै आएको छ । अभ्यासका क्रममा शारीरिक तन्दुरुस्ती, परम्परागत दाँव–पेच, अनुशासन तथा खेल भावना विकासमा विशेष ध्यान दिइँदै आएको छ । कुस्तीप्रति रुचि राख्ने बालबालिका, युवा तथा इच्छुक व्यक्तिहरूलाई कुनै भेदभावबिना सहभागी हुन खुला गरिएको आयोजकहरूले बताएका छन् ।
यस भेगका कुस्तीप्रेमीहरूलाई अखाडामा उपस्थित भई अभ्यास, प्रतिभा र इच्छाशक्ति प्रस्तुत गर्न आह्वान गरिएको छ । स्थानीय स्तरमै अभ्यासको वातावरण बनेपछि युवाहरू गलत कुलतबाट जोगिने, स्वस्थ जीवनशैलीतर्फ उन्मुख हुने र राष्ट्रिय खेलकुदमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
“कुनै पनि खेल स्वास्थ्यका लागि, राष्ट्रका लागि” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको यस पहल्मानी अखाडाले परम्परागत खेलको संरक्षण मात्र होइन, भावी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पहलमान उत्पादन गर्ने आधार तयार गर्ने विश्वास लिइएको छ । स्थानीयवासीहरूले समेत यस पहललाई सकारात्मक रूपमा लिँदै सहयोग र समर्थन जनाइरहेका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग