महेन्द्रनगर, धनुषा बटेश्वर गाउँपालिका वडा नम्बर ५ को आयोजनामा वडास्तरीय टि२० क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ । गाउँपालिकाको कार्यालय बटेश्वर, धनुषाबाट जारी सूचना अनुसार टुर्नामेन्टमा सहभागी हुन इच्छुक सम्पूर्ण क्रिकेट टिमलाई दर्ताका लागि आह्वान गरिएको छ । सूचना अनुसार टुर्नामेन्टमा सहभागी हुन चाहने टिमहरूले मिति २०८२÷०९÷०७ गतेदेखि २०८२÷०९÷११ गतेसम्म टिम दर्ता गराउन सक्नेछन् । प्रतियोगिता टि२० ढाँचामा सञ्चालन हुने र प्रत्येक खेल २० ओभरको हुने बताइएको छ । प्रतियोगितामा LBW बाहेक ICC को सम्पूर्ण नियम लागू हुनेछन् भने अम्पायरको निर्णय सर्वमान्य हुने जनाइएको छ । टुर्नामेन्टमा म्यान अफ द म्याच, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट फिल्डर तथा म्यान अफ द सिरिजका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । ह्याट्रिक गर्ने खेलाडीलाई विशेष रूपमा रेड बुल प्रदान गरिनेछ । म्यान अफ द सिरिज बन्ने खेलाडीलाई नगद ३१ हजार रुपैयाँ र कप प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २४ वटा टिम सहभागी गराइनेछ । खेलाडीहरूले पूर्ण युनिफर्म अनिवार्य रूपमा लगाउनुपर्नेछ, अन्यथा पेनाल्टी लगाइने व्यवस्था गरिएको छ । युनिफर्म नपुगेमा ११ जना खेलाडीमध्ये ५ जनाको दरले पेनाल्टी लाग्ने सूचनामा उल्लेख छ । प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँ सहित शिल्ड तथा उपविजेता टिमलाई नगद ५१ हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिनेछ । टुर्नामेन्टमा कुनै पनि दर्ता शुल्क नलाग्ने आयोजकले स्पष्ट पारेको छ । खेल तालिका (टाइसिट) प्रकाशित गरिएको दिनमै खेल मिति सार्वजनिक गरिनेछ । आयोजकका अनुसार खेल सुरु हुने तोकिएको समय भन्दा कम्तीमा ३० मिनेट अघि सबै टिम उपस्थित हुनुपर्नेछ । उक्त टुर्नामेन्ट शान्तिपुर क्रिकेट टिमको आयोजनामा सञ्चालन हुने जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech