महेन्द्रनगर, धनुषा
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२५ को अवसरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा रक्तदान कार्यक्रम तथा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको सहयोगमा रेमी परियोजना तथा आप्रवासी श्रमिक सञ्जाल क्षिरेश्वरनाथ नगरपालिका, धनुषाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम आप्रवासी श्रमिक सञ्जालका अध्यक्ष प्रमोद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्षिरेश्वरनाथ नगरपालिका नि. प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर साह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले वैदेशिक रोजगारीमा रहेका आप्रवासी श्रमिकहरूले देशको आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले श्रमिकहरूको हकहित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी तथा पुनःस्थापनाका विषयमा स्थानीय तहले निरन्तर पहल गर्दै आएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा भूतपूर्व आप्रवासी अध्यक्ष कैशल्या देवी कुशवाहा, स्थानीय व्यक्तित्व दीप नारायण ठाकुर, रेमी परियोजनाकी रोजगार परामर्शकर्ता सुनिता ठाकुर, सामाजिक परिचालक पुनम कुमारी यादव, लक्ष्मी काफ्ले लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिथिहरूले आप्रवासी श्रमिक दिवसको महत्वमाथि प्रकाश पार्दै आप्रवासी श्रमिकहरूका समस्या, चुनौती तथा समाधानका उपायबारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सुरुवात दीप प्रज्वलन गरी गरिएको थियो, जसले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकहरूको सम्झना र सम्मान व्यक्त गरेको थियो । त्यसपछि सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ११ जना महिला र १६ जना पुरुष गरी जम्मा २७ जनाले स्वेच्छिक रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको सन्देश दिएको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार यस्ता कार्यक्रममार्फत आप्रवासी श्रमिकप्रति सम्मान व्यक्त गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग