नुषा, असोज ३ — दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै क्षिरेश्वरनाथ नगरपालिका –८ सितानगरका युवाहरुले सोमवार विहान सरसफाई गरेका छन् ।
यस अभियान अन्तर्गत स्थानीय युवाहरुले श्री राष्ट्रिय आधारभूत विद्यालय सितानगर, दिहवार मन्दिर र वडा कार्यालय आसपासको क्षेत्रहरूमा व्यापक सरसफाई गरेका छन् । फोहर व्यवस्थापन, झाडी काट्ने, पानी निकासको अवरोध हटाउने लगायतका गतिविधि अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।
युवाहरुका अनुसार, विद्यालय र मन्दिर परिसर सफा राख्दा विद्यार्थीहरुलाई सहजता हुने र जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । “हाम्रो गाउँ सफा, सुन्दर र स्वास्थ्यकर बनाउने हाम्रो प्रतिबद्धता हो,” अभियानका सहभागी स्थानीय युवक मनोज महतोले बताए । कार्यक्रममा मेयर प्रत्यासी शिवशंकर प्रसाद सिंह पनि सहभागी भएका थिए । उनले युवाहरूको पहलप्रति प्रशंसा गर्दै भने, “स्वच्छ वातावरण र सुन्दर नगर निर्माणका लागि यस्ता जनसहभागिता नै सबैभन्दा ठूलो पूँजी हो । युवापुस्ताले अघि बढ्दा नगरको रुपान्तरण सम्भव छ,” सिंहले भने ।
उनले अगाडि थपे, “क्षिरेश्वरनाथ नगरपालिकालाई सफा, सुन्दर र समृद्ध बनाउन म निरन्तर युवाहरूसँग सहकार्य गर्न चाहन्छु । नगरका हरेक विद्यालय, मन्दिर र सार्वजनिक स्थलहरूलाई सफा राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो । युवाहरुले यस अभियानलाई निरन्तर अगाडि बढाउने योजना समेत बनाएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech