महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ मा एक महिनाको अवधिभित्र २० वटा सिँचाई इनारहरूको शिलान्यास सम्पन्न भएको छ । नगर प्रमुख सुखदेव यादव र स्थानिय नेता कार्यकर्ताहरुको पहलमा निमार्ण हुनलागेको सिँचाई इनारबाट स्थानीय कृषकहरूमा उत्साह थपेको छ ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवका अनुसार “कृषकहरूको उत्पादन वृद्धि तथा कृषि प्रणालीमा आत्मनिर्भरता ल्याउने उद्देश्यले सिँचाईको सुविधा विस्तार गर्ने हाम्रो प्राथमिकता हो । यो इनार योजना त्यसैको महत्वपूर्ण हिस्सा हो । उक्त इनार निर्माण योजनाबाट सयौं स्थानीय कृषकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । इनारहरू निर्माण भएपछि वर्षभरि खेती सम्भव हुने र पानीको अभावले हुने उत्पादन घट्ने समस्या न्यूनीकरण हुने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा नेकपा एमाले क्षिरेश्वरनाथ नगर अध्यक्ष अनिल चौधरीका अनुसार “आज यहाँ २० ओटा सिँचाई इनारहरूको शिलान्यास हुनु हाम्रो नगरको कृषि क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो । हामीले सधैं स्थानीय कृषकको हितमा काम गर्नुपर्छ भन्ने सोच राखेका छौं । इनार निर्माणले पानीको अभावमा बाँझिने जमिन अब हरियालीमा परिणत हुनेछ । यो विकास एमालेको सोच, प्रतिबद्धता र जनताको सेवामा समर्पित भावनाको प्रतिबिम्ब हो । “नगरको समुन्नति पार्टी भन्दा माथिको विषय हो । हामी सबै मिलेर काम गर्दा मात्र स्थानीय विकास सम्भव छ । यस किसिमका परियोजनामा हाम्रो समर्थन सधैं रहनेछ ।
शिलान्यास कार्यक्रममा उपस्थित रहनुभएका स्थानीय किसान परमेश्वर महतोले खुशी व्यक्त गर्दै भने “हामीजस्ता साना किसानका लागि इनारको सुविधा जीवनमै ठूलो सहारा हो । पहिले सिँचाईको लागि वर्षा कुर्नुपथ्र्यो, जसले खेतीमा धेरै समस्या ल्याउँथ्यो । अब इनार बनेपछि वर्षभरि खेती गर्न सकिन्छ भन्ने आशा छ । नगर प्रमुख र स्थानिय नेताहरु हाम्रो समस्या बुझेर यस्तो काम अघि बढाएकोमा हामी धेरै खुशी छौं । अब मल, बिउ र प्रविधिसँगै पानीको समस्या समाधान भयो भने हाम्रो उत्पादन पनि बढ्नेछ र जीवनस्तरमा सुधार आउनेछ ।
क्षिरेश्वरनाथ नगरपालिका–८ मा सिँचाई इनारको शिलान्यास कार्यक्रममा एउटा विशेष क्षण त्यो पनि रह्यो, जहाँ नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका स्थानीय नेताहरू तथा कार्यकर्ताहरूको औपचारिक स्वागत गरियो । कार्यक्रमकै क्रममा नगर प्रमुख सुखदेव यादव र नेकपा एमालेका नगर अध्यक्ष अनिल चौधरीले नयाँ प्रवेशकर्ताहरूलाई माला, टीका र अबिर लगाएर स्वागत गर्नुभयो । उहाँले स्वागत मन्तव्यमा भन्नुभयोः “देश, जनता र विकासको पक्षमा सोच राख्ने जो–कोहीलाई हाम्रो पार्टीले स्वागत गर्दछ । आज हामीसँग नयाँ जोश र नयाँ टोली थपिएको छ । उहाँहरूको आगमनले संगठन अझ बलियो हुने विश्वास लिएका छौं ।
नयाँ प्रवेशकर्ताहरूले पनि एमालेको नीति, कार्यशैली र विकासप्रति प्रतिबद्धता देखेर आफूहरू आकर्षित भएको स्पष्ट पार्दै भने ः “अब हामी जनताको सेवामा, विकासको यात्रामा नेकपा एमालेसँग काँधमा काँध मिलाएर अघि बढ्नेछौं ।
शिलान्यास कार्यक्रम स्थानीय जनप्रतिनिधि, कृषक, प्राविधिक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग