दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

१३ पुस, काठमाडौं । गएको शनिबार भन्सार विभागका अधिकारीहरूलाई फ्लाई दुबईको उडान मार्फत एक व्यक्ति चार किलो सुन लिएर आइरहेको सूचना आयो । उडान नम्बर एफजेड ११३३ मा सवार ती व्यक्तिको पासपोर्ट नम्बर सहितको विवरण अधिकारीहरूले पाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार, बिजनेस क्लासको टिकट मार्फत नेपाल आउँदै गरेका ती व्यक्तिलाई विमानमै जाँच गर्ने तयारी थियो । विमानका कर्मचारी र भन्सार अधिकारीहरूबीच सूचना आदानप्रदानमा समन्वय हुन नसक्दा उनलाई जाँच गर्न ढिलाइ भयो । तर, केहीबेर ढिलै भए पनि गएर खानतलासी लिंदा सुन भेटिएन । भन्सारका अधिकारीहरूका अनुसार, बिजनेस क्लासबाट आउनेलाई लिन छुट्टै गाडी आउने हुँदा त्यस मार्फत सुन निकाल्ने गरेको आशंका थियो । ती व्यक्तिको ट्राभल हिस्ट्री समेत शंकास्पद रहेको अधिकारीहरू बताउँछन् । ‘तर, सुन नभेटिएपछि केही भन्न सक्ने अवस्था भएन, यद्यपि यसमा अनुसन्धान गरिरहेका छौं’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने । ओर्लिनेवित्तिकै सेटिङमा अवैध सामान लुकाइन थालेपछि अहिले भन्सार कार्यालयले विमानभित्रै छिरेर अपरेशन चलाउन थालेको छ । यद्यपि, विमानभित्र समेत अवैध सामान फेला पार्न कठिन बन्दै गएको अधिकारीहरू दाबी गर्छन् । विमानबाट बाहिर निस्किनेवित्तिकै तस्करीमा संलग्नले कसरी ‘कन्साइनमेन्ट’ व्यवस्थापन गर्छन् भन्ने २२ मंसिर २०८० मा बरामद भएको १४ किलो सुन प्रकरणको अनुसन्धानले पनि देखाउँछ । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा चन्द्र घलेलाई १४ किलो सुन सहित पक्राउ गरेको थियो । पक्राउ परेपछि भन्सारका अधिकारीहरूसँग बयान दिंदै उनले अध्यागमन पुग्नुअगावै शौचालयमा लुकाएर सुन बाहिर लैजाने गरेको बयान दिएका थिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग