२१ मंसिर, काठमाडौँ पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेकका क्षेत्रमा मौसम सफा छैन । ‘यो आंशिक बदली मात्र हो, वर्षाको भने सम्भावना छैन’, उनले भनिन् । बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा मौसम बदली हुने मौसमविद् नगरकोटीले बताइन् । कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । बिहीबार दिउँसो काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्सियस छ भने पारदर्शिता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौँमा बिहीबार बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन् । ‘काठमाडौँमा आज मौसम धुम्म भए पनि आंशिक बदली रहने छ । वर्षाको भने सम्भावना छैन’, उनले भनिन् । बिहीबार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहन्छ भने अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग