महेन्द्रनगर, धनुषा । हरितालिका तीजको अवसरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोल महादेव स्थान स्थित प्रसिद्ध क्षिरेश्वरनाथ महादेव स्थानमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको उल्लेख्य भीड लागेको छ । तीज पर्वका अवसरमा बिहानैदेखि महिला तथा भक्तजनहरू क्षिरेश्वरनाथ महादेवको दर्शन गर्न मन्दिर परिसरमा पुगेका थिए । विशेषगरी महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गरेका थिए । मन्दिरमा दर्शन तथा पूजाआजा गर्न पुगेका भक्तजनहरू धार्मिक वातावरणमा रमाउँदै तीजको उत्सवसमेत मनाएका थिए । महिलाहरू समूह–समूहमा भेला भएर तीजका परम्परागत गीतमा विभिन्न नृत्य प्रस्तुत गर्दै रमाइरहेका दृश्य देखिन्थ्यो । रातो तथा विभिन्न रंगका साडी र परम्परागत पहिरनमा सजिएका महिलाहरू तीज गीतमा नाच्दै, एक–अर्कालाई शुभकामना आदानप्रदान गर्दै पर्वको खुसी साटिरहेका थिए । मन्दिर परिसरमा पूजा, दर्शन र सांस्कृतिक मनोरञ्जनका कारण दिनभर नै उत्सवमय वातावरण देखिएको थियो । हरितालिका तीज हिन्दू महिलाहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ । यस अवसरमा महिलाहरूले भगवान् शिव र पार्वतीको पूजा आराधना गर्ने, व्रत बस्ने तथा माइती तथा साथीभाइसँग भेटघाट गरी तीजका गीत तथा नृत्यमार्फत आफ्ना भावना व्यक्त गर्ने परम्परा रहेको छ । क्षिरेश्वरनाथ महादेव स्थान धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले तीजलगायत विभिन्न धार्मिक पर्वमा यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । यस वर्ष पनि तीजका अवसरमा टाढाटाढाबाट भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि पुगेका थिए । तीजको धार्मिक आस्था, आपसी भेटघाट र सांस्कृतिक प्रस्तुतिले क्षिरेश्वरनाथ महादेव स्थानलाई सोमबार दिनभर नै उत्सवमय बनाएको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech