महेन्द्रनगर,धनुषा
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा श्री विष्णुदल गणको आयोजनामा अन्तरविद्यालय निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता मिति २०८२÷०९÷०४ गते भव्य, मर्यादित तथा अनुशासित वातावरणमा सम्पन्न भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्री विष्णुदल गण ब्यारेकमा आयोजित उक्त कार्यक्रम श्री नं. २७ बाहिनीका बाहिनीपति सहायक रथी नारायणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिका रूपमा धनुषा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, धनुषा जिल्लामा तैनाथ नेपाली सेनाका विभिन्न युनिटका युनिटपति, क्षिरेश्वरनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख, सहभागी १० विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा करिब २५० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको औपचारिक शुभारम्भ राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी गरिएको थियो । उक्त अवसरमा श्री विष्णुदल गणका निमित्त गणपति सेनानी सुबोध कुँवरले मन्तव्य राख्दै पृथ्वीनारायण शाहले देखाउनुभएको राष्ट्रिय एकता, स्वाधीनता, सहिष्णुता, आत्मनिर्भरता तथा राष्ट्र निर्माणप्रतिको दूरदर्शी सोच आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सहायक रथी नारायणबहादुर थापाले पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वकै कारण नेपाल एकीकृत राष्ट्रका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो । उहाँले “चार वर्ण छत्तीस जातको साझा फूलबारी”को अवधारणा आज पनि राष्ट्रिय एकताको मूल आधार भएको उल्लेख गर्दै वर्तमान पुस्ताले राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा १० विद्यालयका २० जना छात्र–छात्राहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । निबन्ध लेखन तथा वक्तृत्वकला दुवै विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने चार–चार जना विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
निबन्ध लेखनतर्फ श्री राष्ट्रिय माध्यमिक विद्यालय सखुवाकी स्मृति ठाकुरले सान्त्वना, श्री माध्यमिक विद्यालय ईच्छापुरकी नुसरत खातुनले तृतीय, श्री जनता मा.वि.का प्रिन्स कुमार शाहले द्वितीय तथा श्री एर्रे इन्टरनेशनल स्कुलकी अमिनित शाहले प्रथम स्थान हासिल गरेका छन ।
त्यस्तै वक्तृत्वकला तर्फ श्री शिवशक्ति माध्यमिक विद्यालयकी रागिनी कुमारीले सान्त्वना, श्री नमुना मा.वि. रामदयाकी कृति कुमारी यादवले तृतीय, श्री एर्रे इन्टरनेशनल स्कुलकी अनुष्का पाण्डेले द्वितीय तथा श्री जनता मा.वि. की खुस्बु कुमारी शाहले प्रथम स्थान प्राप्त गरेका छन ।
कार्यक्रमको समापन गर्दै श्री विष्णुदल गणका गणपति प्रमुख सेनानी खिलेन्द्रराज अमगाईंले पृथ्वीनारायण शाहको गतिशील नेतृत्व, रणकौशल तथा दिव्य उपदेशको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा राष्ट्रप्रेम, अनुशासन, नैतिकता र कर्तव्यबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाली सेनाले राष्ट्र निर्माण, राष्ट्रिय एकता प्रवद्र्धन तथा युवा पुस्तामा सकारात्मक सोच विकासका लागि यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको स्पष्ट पार्नुभयो ।
यस प्रकारका सिर्जनात्मक तथा बौद्धिक प्रतियोगिता मार्फत विद्यार्थीहरूमा राष्ट्रप्रेम, इतिहास प्रतिको सम्मान र राष्ट्रिय एकताको भावना थप अभिवृद्धि हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग