पुस १ गते, धनुषा
धनुषाको बटेश्वरस्थित श्री राष्ट्रि«य आधारभूत विद्यालय खोरिया सीतापुरमा मंगलवार शैक्षिक हाटबजारको आयोजना गरिएको छ । सामाजिक संस्था सोसल ल्यावको आयोजना र एभरेष्ट बैंकको आर्थिक सहयोगमा बालबालिकाका लागि वित्तीय प्रोत्साहन मोडलको रुपमा विद्यालयमा शैक्षिक हाटबजारको आयोजना गरिएको हो ।
विद्यालयमा विद्यार्थीहरुको नियमित उपस्थिती, सरसफाई, गृहकार्यलगायत अनुशासनमा बसेको आधारमा कक्षा शिक्षकले दैनिक अधिकतम ३ प्वाइट दिने गरेको छ । एक प्वाइन्ट बराबर ५ रुपैयाको टोकन मनि सोसल ल्याबले विद्यार्थीलाई उपलब्ध गराएको छ । महिनाको अन्तिममा विद्यालयमा शैक्षिक हाट बजार लागेको दिन विद्यार्थीहरुले महिनाभरिमा पाएको सम्पूर्ण प्वाइन्ट बरावरको पाउने रकमकोे टोकन मनिले विद्यार्थीले आफनो इच्छा अनुसारको शैक्षिक सामाग्री, खेलकुद सामाग्री खरिद गरेको विद्यालयका शिक्षक दिपेन्द्र सिंहले बताए ।
विद्यालयमा अध्ययनरत कक्षा ३ देखि कक्षा ८ सम्मका करिव २ सय ३० विद्यार्थीले शैक्षिक हाटबजारबाट प्रत्यक्ष लाभ लिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा बाल्यकालदेखि नै वित्तिय सचेतना अभिवृद्धि गर्न तथा स्वस्थ्य आर्थिक बानीहरुको विकास गर्न हामीले बालबालिकाका लागि वित्तिय प्रोत्साहन मोडल कार्यक्रमको आयोजना गरेको सोसल ल्याबका कार्यकारी निर्देशक अजित भटटले बताए ।
विद्यालयमा लागु गरिएको यस परियोजनाको मोडेलले बालबालिकालाई पैसाको मूल्यप्रति सचेत बनाउनुका साथै पुरस्कार प्रणालीमार्फत सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्ने र नियमित विद्यालय आउने, पठन संस्कृतिको विकासमा योगदान पुप्याउने मुख्य उद्देश्य रहेको सोसल ल्याव संस्थाका बरिष्ठ कार्यक्रम संयोजक नामगेल घलेले बताए । शैक्षिक हाटबजार अवलोकन गरेका एभरेष्ट बैंकका कर्मचारी सरोज चौलागाईले बैंकको सहकार्यमा आयोजना गरिएको शैक्षिक हाटबजार प्रत्यक्ष रुपमा हेर्दा आफुलाई धेरै नै खुशी लागेको बताए । उनले भने विद्यार्थीहरुले बैंकले प्रदान गरेको टोकन मनि लिएर आफुले पाएको पैसाले आफनो इच्छा अनुसारको समान किन्ने र बाँकी रकम बैंकमा मौज्दातको रुपमा जम्मा गरेकोले बालबालिकालाई बचतको अभ्यास समेत सिकाएको बताए । विद्यालयमा आयोजित शैक्षिक हाट बजारमा विद्यार्थीहरु उत्साह र उमंग देख्दा आफु पनि निकै उत्साही बनेको र विद्यार्थीहरु खर्च र बचतलगायत समान किन्ने, रकम लेनदेन गर्ने अभ्यासलगायतको अवधारणाको विकास गर्ने एभरेष्ट बैंक धनुषाधामका कर्मचारी आदित्य झाले बताए ।
बटेश्वर युवा संजालका संयोजक सरोजक कुमार महतोले विद्यालयमा यस प्रकारको शैक्षिक हाटबजारले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने यस्ता कार्यक्रमहरुमा स्थानिय सरकारले अपनत्व ग्रहण गर्नुको साथै लगानी गर्न जरुरी रहेको बताए ।
मधेश प्रदेशमा पहिलो पटक बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको एक एक विद्यालयमा यो परियोजना लागु गरिएको छ । सोसल ल्याव संस्थाले यस अघि बागमति प्रदेशको ८ ओटा विद्यालयमा योे परियोजना सफलतापूर्वक सम्पन्न गरि सकेको छ । विद्यालयमा यो परियोजना लागु भएपछि विद्यार्थीहरुको उपस्थिती दर, गृहकार्य, अनुशासन, सरसफाईलगायत विद्यार्थीहरुको बानी व्यवहारमा परिवर्तनको आभास छाएको विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग