काठमान्डौं — नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत उप–महासचिव पदका लागि नेता रघुबीर महासेठले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशनको बन्दसत्रमा केन्द्रीय नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढिरहेको छ । सोही क्रममा महासेठले उप–महासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । पार्टीका प्रभावशाली नेताका रूपमा चिनिएका महासेठ लामो समयदेखि संगठन विस्तार, पार्टी सुदृढीकरण तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै महासेठले पार्टीको नीति, सिद्धान्त र संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले एमालेभित्र सामूहिक नेतृत्व, अनुशासन र एकतालाई अझ सुदृढ गर्दै जनताको भरोसा जित्ने दिशामा काम गर्ने धारणा राखेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको उल्लेख्य उपस्थिति रहेको छ । नेतृत्व चयन प्रक्रियासँगै आगामी कार्यदिशा, राजनीतिक प्रस्ताव र संगठनात्मक संरचनामाथि पनि छलफल भइरहेको छ । उप–महासचिव पदका लागि अन्य नेताहरूको पनि उम्मेदवारी परेको बताइएको छ । एमालेको ११ औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech