महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित दुधमती एफ.एम. १०४ मेगाहर्जद्वारा हरेक वर्ष आयोजना हुँदै आएको नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता “महासंग्राम” यस वर्ष पनि भव्यरूपमा सम्पन्न भएको छ । प्रतियोगिता सम्पन्न भएपछि सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
यस वर्षको प्रतियोगिता “शिक्षा विना विकास असम्भव, शिक्षा संगै सबल समाज सम्भव” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको थियो । विगत पाँच वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता विद्यार्थीहरूमा ज्ञान र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्नका लागि विशेष रुपमा उपयोगी मानिँदै आएको छ ।
यो वर्षको प्रतियोगिता भाद्र १५ गतेदेखि सुरु भई असोज ७ गतेसम्म सञ्चालन गरिएको थियो । क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, वटेश्वर गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाका विभिन्न विद्यालयहरूबाट गरी १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतिस्पर्धा निकै रोचक र ज्ञानवर्धक रहेको कार्यक्रममा विद्यार्थीहरूले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा उत्कृष्ट जवाफ दिँदै आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा चिल्ड्रेन गार्डेन बोर्डिङ स्कुलले प्रथम स्थान, श्री सरस्वती बोर्डिङ स्कुलले दोस्रो स्थान, र सेमिफाइनलसम्म सबैभन्दा बढी ८७ अंक ल्याउन सफल श्री क्षिरेश्वर जनता माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको थियो ।
त्यस्तै श्री माध्यमिक विद्यालय इच्छापुरले सेमिफाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्दै सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रमको अध्यक्षता दुधमती एफ.एम.का व्यवस्थापक अनिल कुशवाहाले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, विशिष्ट अतिथि नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमा, अतिथि समाजसेवी मितलाल गिरी र ईश्वरी अधिकारी, प्यावसन केन्द्रीय सल्लाहकार नरेन्द्र शर्मा, तथा क्षिरेश्वरनाथ नगरपालिका प्यावसन अध्यक्ष महेश महतो रहेका थिए ।
उनीहरूले प्रतियोगिताको सफलतापूर्वक सम्पन्नताप्रति आयोजक टोलीलाई बधाई दिँदै यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा ज्ञान, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेव यादवले दुधमती एफ.एम.ले निरन्तर रुपमा शिक्षा, चेतना र सामाजिक सन्देश प्रवाहमा अग्रणी भूमिका खेल्दै आएको बताए । उनले भने, “हाम्रो नगरको हरेक विद्यालयमा यस्ता बौद्धिक प्रतिस्पर्धा हुनु निकै आवश्यक छ । दुधमती एफ.एम.ले शिक्षा र समाजबीचको सेतुको काम गरेको छ ।
त्यस्तै नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमाले शिक्षाको माध्यमबाट मात्र सबल समाज निर्माण सम्भव हुने बताउँदै, “विद्यार्थीहरूमा प्रश्न सोध्ने र जवाफ दिने संस्कार विकास हुनु नै ज्ञानको मूल आधार हो,” भनेर आयोजक टोलीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा करिब एक महिनासम्म सञ्चालन भएको प्रतियोगितामा सहयोग पु¥याउने कार्यक्रम संचालक किरण गिरी, प्राविधिक अवधेश प्रसाद साह, आयुषा खातुन र यसोधा गुरुङलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावक प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग