सप्तरी,असोज १९
लगातारको वर्षाका कारण उर्लिएको सप्तकोशी नदीमा पानीको स्तर खतराको सीमामाथि पुगेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खुला गरिएको छ । नदीमा बढ्दो बहावका कारण ब्यारेज क्षेत्र र वरपरका बस्तीमा उच्च सतर्कता अपनाइएको छ ।
सप्तकोशीको पानीको बहाव तीव्र गतिमा बढ्दै गएपछि सुरक्षाकर्मी र प्राविधिक टोलीले नदीको दबाब घटाउनका लागि सबै ढोका खोल्ने निर्णय गरेको हो । पानीको तीव्र वेग र जोखिमका कारण कोशी ब्यारेज हुँदै हुने सवारीसाधन र पैदल यात्रुहरूको आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।
कोशी ब्यारेज क्षेत्रका प्रहरी र सशस्त्र सुरक्षाकर्मीहरू सतर्क मुद्रामा खटिएका छन् । नदीमा पानीको सतह अझै बढ्ने सम्भावना देखिएपछि आसपासका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिइएको छ ।
नेपाल र भारतबीचको प्रमुख सीमावर्ती मार्गसमेत रहेको कोशी ब्यारेजमा हरेक वर्ष मनसुनको समयमा यस्ता जोखिम देखिने गरे पनि यस वर्षको बहाव पछिल्ला वर्षको तुलनामा धेरै उच्च रहेको बताइएको छ ।
स्थानीय प्रशासनले आकस्मिक राहत र उद्धारका लागि तयारी अवस्थामा टोली राखेको छ भने जलस्रोत तथा सिँचाइ विभागले निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग