महेन्द्रनगर, शिक्षा सम्बन्धी सरकारले ल्याएका नयाँ प्रावधानप्रति असन्तुष्टि जनाउँदै धनुषा जिल्ला प्राइभेट एण्ड बोर्डिङ्ग स्कूल्स अर्गनाइजेशन (प्याब्सन) ले शुक्रबार आफ्नो दोस्रो दिनको आन्दोलनका कार्यक्रम सम्पन्न गरेको छ । आन्दोलनको क्रममा प्याब्सन धनुषाले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष नबल यादव, सचिव नरायण बास्तोला, कोषाध्यक्ष श्रवण कुमार महतो, केन्द्रिय सदस्य विश्वलाल सिंह, पूर्व केन्द्रिय सदस्य वर्तमान जिल्ला सल्लाहकार नरेन्द्र शर्मा, मधेश प्रदेश अध्यक्ष गणेश कुमार साह र जिल्ला सल्लाहकार विनोद कुमार यादव लगायत जिल्लाभरका निजी तथा आवासीय विद्यालयका सञ्चालक, प्रधानाध्यापक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
प्याब्सन धनुषाका अध्यक्षले भने, “निजी विद्यालयहरूको अस्तित्वलाई समाप्त गर्ने जस्ता प्रावधान कुनै पनि हालतमा स्वीकार्य छैनन् । शिक्षा क्षेत्रलाई कमजोर पार्ने गरी ल्याइएका प्रावधान फिर्ता नलिए सशक्त आन्दोलनमा जान बाध्य हुनेछौं ।
उनका अनुसार पूर्ण छात्रवृत्ति भन्ने जस्तो अव्यावहारिक प्रावधान, विद्यालयलाई गैर–नाफामूलक बनाउनुपर्ने भनाइ, र तत्कालै कार्यान्वयन गर्न सकिने अवस्था नरहेको अन्य व्यवस्थालाई सच्याउनुपर्ने मुख्य माग रहेको छ ।
प्याब्सनले बिहीबारदेखि सुरु गरेको आन्दोलन अन्तर्गत पहिलो दिन अध्यक्ष मेयर र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र, दोस्रो दिन ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापनपत्र, तेस्रो दिन भाद्र १ गते प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र, चौथो दिन भाद्र २ गते आआफनो निर्वाचन क्षेत्रका संघिय प्रतिनिधि सभा राष्ट्रिय सभा सांसदहरुलाई ज्ञापनपत्र लगायत नियमित कार्यक्रम रहेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech