महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैया स्थित रहेको श्री नमुना माध्यमिक विद्यालय कुम्हरौल रमदैया भवाडीको आयोजनामा विद्यालयबाट अवकाश पाएका तथा ग्रेड वृद्धि भई अन्य विद्यालयमा स्थानान्तरण भएका शिक्षकहरूलाई सम्मानपूर्वक विदाई गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाअध्यक्ष, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयमा लामो समयसम्म सेवा गरेर विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका शिक्षकहरूलाई माला, दुईसेट कपडा, प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
विदाई भएका शिक्षक शत्रुधन प्रसाद ठाकुर, शिवनाथ यादव, तेजनिधि भटराई, राम एकवाल राउत, राज कुमार साह र रामपृत यादवले भावुक हुँदै भने यो विद्यालय हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ । यहाँ बिताएका वर्षहरू केवल पढाउने–पढ्ने मात्र होइन, एक परिवारको हिस्सा बनेर सँगै हाँस्ने, सिक्ने र संघर्ष गर्ने यात्राको स्मृति हुन् । आज विदाईको बेला मन भारी छ, तर नयाँ यात्रामा पनि यसैगरी सेवा र समर्पणको बाटोमा अघि बढ्नेछौँ । साथै आउनेदिनमा विद्यालयलाई हाम्रो आवश्यकता जतिवेला हुन्छ निःशुल्क सेवा दिने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा उपस्थित वडा नम्बर २ का वडाअध्यक्ष देवु यादवले पनि मन्तव्य व्यक्त गर्दै भने शिक्षकहरूको योगदानले हाम्रो समाज र विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित भएको छ । उहाँहरूको समर्पण, मिहिनेत र अनुभव सधैं प्रेरणाको स्रोत बन्नेछ । हामी सबैको तर्फबाट उहाँहरुलाई आगामी जीवनका लागि शुभकामना व्यक्त गर्दछौँ ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिस यादवले भने शिक्षकहरूको समर्पण र मेहनतले विद्यालयको शैक्षिक स्तरमा उन्नति आएको छ । उहाँहरुको योगदानले विद्यार्थी र विद्यालय दुवैको भविष्य उज्ज्वल बनाएको छ । आजको विदाई कार्यक्रमले उहाँहरुको अमूल्य योगदानको कदर गरेको छ ।
अन्त्यमा, विद्यालयका प्रधानाध्यापकले विद्यालयमा पु¥याएको योगदानको कदर गर्दै सबै शिक्षकको आगामी जीवनमा सफलता, स्वास्थ्य र सुखको कामना गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी संजय खत्वे लगायतका पदाधिकारी शिक्षक शिक्षिका विद्यार्थीहरुको उपस्थती रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech