महेन्द्रनगर, धनुषा धनुषा क्षेत्र नं.४ का राज किशोर महतो (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई चुनाव नजिकिँदै जाँदा विभिन्न स्थानमा भव्य स्वागत गरिएको छ । घरदैलो कार्यक्रमलाई तिव्र बनाएका महतोले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् । महतोले आज मिथिला नगरपालिका वडा नम्बर ३ र क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ लगायतका क्षेत्रहरूमा स्थानीयले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए । घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको थियो । घरदैलो कार्यक्रमका क्रममा महतोले विगतका सरकारहरूबाट अपेक्षित विकास हुन नसकेको दाबी गर्दै अब क्षेत्रको समग्र विकास, पारदर्शिता र सुशासन आफ्नो प्राथमिकता रहेको बताए । “धनुषा–४ का जनताले परिवर्तन चाहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र सडक पूर्वाधारमा ठोस काम गर्ने प्रतिबद्धता लिएको छु,” उनले भने । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, किसानका समस्यालाई सम्बोधन गर्ने तथा स्थानीय तहसँग समन्वय गरेर दीर्घकालीन योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । मिथिला नगरपालिका–३ का एक स्थानीय बासिन्दाले भने, “हामी नयाँ सोच र नयाँ नेतृत्व चाहन्छौं । राज किशोर महतो युवामैत्री र सक्रिय देखिनुहुन्छ, त्यसैले समर्थन गरेका छौं । त्यसैगरी क्षिरेश्वरनाथ–७ का एक ज्येष्ठ नागरिकले विगतमा अधुरा रहेका योजनाहरू पूरा गर्ने सक्षम उम्मेदवारको आवश्यकता रहेको उल्लेख गर्दै महतोलाई मत दिने निर्णय गरिसकेको बताए । धनुषा क्षेत्र नं.४ मा चुनावी सरगर्मी दिनानुदिन बढ्दो छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, कोणसभा र अन्तरक्रिया कार्यक्रममार्फत मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् । यसैबीच, रास्वपा उम्मेदवार महतोको सक्रियता र विभिन्न ठाउँमा देखिएको जनसहभागिताले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको स्थानीय विश्लेषकहरू बताउँछन् । फाल्गुण २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले अन्तिम चरणको प्रचारप्रसारलाई तीव्र बनाएका छन् । अब मतदाताको अन्तिम निर्णय कस्तो हुन्छ भन्ने प्रतीक्षा सबै दललाई छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech