महेन्द्रनगर, धनुषा अगामी प्रतिनिधि सभा सदस्य पदको लागी हुन गइरहेको निर्वाचन नजिकिँदै जाँदा धनुषा क्षेत्र नं.३ मा चुनावी माहोल तातेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिएकी जुली कुमारी महतोले आफ्नो घरदैलो कार्यक्रमलाई तिव्र बनाएकी छन् । पछिल्लो केही दिनयता महतोले क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आएकी छन् । घरदैलो अभियानका क्रममा उनीसँग पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । मतदातासँग हातेमालो गर्दै उनले विकास, सुशासन र समावेशी प्रतिनिधित्वलाई मुख्य एजेण्डा बनाएको बताएकी छन् । घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार जुली कुमारी महतोले भनिन् “धनुषा क्षेत्र नं.३ का आम जनतामा हाम्रो पार्टीप्रति गहिरो विश्वास देखिएको छ । विगतमा एमाले नेतृत्वको सरकारले गरेका विकासका कामकै कारण जनताले सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ । यसपटक पनि जनताको साथ र समर्थनले हाम्रो जित सुनिश्चित हुनेमा म विश्वस्त छु। “हामी केवल चुनाव जित्नका लागि होइन, क्षेत्रको समग्र विकासका लागि अघि बढेका छौं । सडक, शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारी सिर्जना हाम्रो प्राथमिकता हो । महिला, युवा र विपन्न वर्गको आवाजलाई संसदमा मजबुत ढंगले उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” घरदैलोका क्रममा स्थानीय बासिन्दाले क्षेत्रको विकास, रोजगारीको अभाव, कृषि समस्यालगायतका विषय उठाएका थिए । केही मतदाताले महिला उम्मेदवारप्रति सकारात्मक धारणा व्यक्त गर्दै नयाँ सोच र सक्रिय नेतृत्वको अपेक्षा राखेको बताएका छन् । स्थानीय एक मतदाताले भने, “हामीलाई बोल्न सक्ने र काम गर्न सक्ने प्रतिनिधि चाहिएको छ । उम्मेदवार महतोले विकासका स्पष्ट एजेण्डा ल्याउनु भएको छ, अब काम गरेर देखाउनु पर्नेछ ।” धनुषा क्षेत्र नं.३ मा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू सक्रिय रूपमा प्रचार–प्रसारमा जुटेका छन् । घरदैलो, कोणसभा, टोलसभा लगायतका कार्यक्रममार्फत मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास तीव्र बनेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा क्षेत्र नं.३ मा चुनावी प्रतिस्पर्धा झन् रोचक बन्दै गएको स्थानीय विश्लेषकहरू बताउँछन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech