महेन्द्रनगर,धनुषा मिथिला क्षेत्रको सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मानिने १५ दिने माध्यमिकी परिक्रमा आज पाँचौं दिनको विश्राम स्थल महोत्तरी गाउँपालिका–४ मडैमा पुगेको छ । प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन हुने यो परिक्रमा धार्मिक सहिष्णुता, सांस्कृतिक एकता र आध्यात्मिक साधनाको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ । परिक्रमा टोलीले यसअघि विभिन्न धार्मिक स्थलहरू हुँदै आज मडैमा विश्राम लिएको हो । मडै पुगेपछि साधुसन्त, महन्त, श्रद्धालु तथा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । माध्यमिकी परिक्रमा विशेषगरी जनकपुरधाम स्थित जानकी मन्दिरबाट सुरु भई मिथिलाका विभिन्न धार्मिक एवं ऐतिहासिक स्थलहरू परिक्रमा गर्दै पुनः जनकपुरधाममै समापन हुने परम्परा रहिआएको छ । परिक्रमा अवधिभर हजारौं श्रद्धालु नाङ्गो खुट्टा हिँडेर धार्मिक अनुष्ठानमा सहभागी हुने गर्दछन् । पाँचौं दिनको विश्रामस्थल मडैमा स्थानीय तह, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाले श्रद्धालुहरूको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । खानेपानी, स्वास्थ्य शिविर, सरसफाइ तथा आवास व्यवस्थालाई व्यवस्थित बनाउन विशेष ध्यान दिइएको आयोजकले जनाएको छ । धार्मिक विश्वासअनुसार माध्यमिकी परिक्रमा पूरा गरेमा मनोकामना पूरा हुने र आत्मिक शान्ति प्राप्त हुने जनविश्वास छ । यसले मिथिलाको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउँदै आएको छ । परिक्रमा आगामी दिनहरूमा अन्य निर्धारित विश्रामस्थल हुँदै पुनः जनकपुरधाम फर्कने कार्यक्रम रहेको छ । श्रद्धालुहरूको उत्साह र भक्ति भावले मिथिलाको यो महाकुम्भ अझै भव्य र ऐतिहासिक बन्दै गएको स्थानीयवासीहरूको भनाइ छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech