महेन्द्रनगर,धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनुषा क्षेत्र नं. ४ मा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ । प्रमुख राजनीतिक दलका उम्मेदवारहरू गाउँ–टोल केन्द्रित भेटघाट, घरदैलो र सभासम्मेलनमा व्यस्त छन् । यस क्षेत्रमा कुल ३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने मुख्य प्रतिस्पर्धा ठूला दलबीच हुने आकलन गरिएको छ । यस क्षेत्रबाट रघुविर महासेठ (नेपाल कम्युनिष्ट पार्टी (एमाले)), महेन्द्र यादव (नेपाली कांग्रेस), राज किशोर महतो (राष्ट्रिय स्वतन्त्र पार्टी), संजय कुमार महतो (नेपाली कम्युनिष्ट पार्टी), रामबाबु साह हलुवाइ (राष्ट्रिय प्रजातन्त्र पार्टी), कृष्णचन्द्रप्रसाद साह (जनता समाजवादी पार्टी नेपाल), इन्द्रजितकुमार यादव (जनमत पार्टी) तथा सम्पत महतो कोइरी (आम जनता पार्टी) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । स्थानीय तहमा पुगेर उम्मेदवारहरूले सडक, सिँचाइ, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्रमुख एजेन्डा बनाएका छन् । पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहिसकेका रघुविर महासेठले आफूले सुरु गरेका विकास आयोजना निरन्तरता दिने प्रतिबद्धता जनाइरहेका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवले पारदर्शी नेतृत्व र युवा सहभागितामार्फत समावेशी विकास गर्ने प्रतिबद्धता दोहो¥याइरहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राज किशोर महतोले भ्रष्टाचारविरुद्ध कडा कदम र नयाँ राजनीतिक संस्कारको मुद्दा उठाएका छन् । अन्य दलका उम्मेदवारहरूले पनि आ–आफ्नो राजनीतिक दृष्टिकोणसहित मतदातामाझ पुगिरहेका छन् । क्षिरेश्वरनाथ नगरपालिका–५ का स्थानीय रामआशिष यादव भन्छन् “हामीलाई भाषणभन्दा काम चाहिएको छ । जित्नेले पाँच वर्ष गाउँ फर्केर हेर्नुपर्छ, चुनावमा मात्रै होइन । त्यस्तै मिथिला बिहारी नगरपालिका–८ की गृहिणी सुनिता देवीको भनाइ छ “सडक र स्वास्थ्य सेवामा सुधार भएन भने युवाहरू विदेशिनु पर्ने बाध्यता हट्दैन । यसपटक सोचेर मत हाल्छौं । युवा मतदाता मनोज महतो भन्छन् “नयाँ अनुहारले आशा देखाएका छन्, तर अनुभवी नेताको पनि आफ्नै योगदान छ । अब निर्णय विकास र इमान्दारितामा भर पर्नेछ । राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक धनुषा–४ मा बहुदलीय प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ । परम्परागत प्रभाव, व्यक्तिगत छवि, जातीय–सामाजिक समीकरण र युवा मतदाताको झुकावले अन्तिम परिणाम निर्धारण गर्ने अनुमान गरिएको छ । गाउँ–टोलमा चिया पसलदेखि सार्वजनिक स्थलसम्म चुनावी बहस चर्किएको छ । मतदाता भने यसपटक विकास, रोजगारी र सुशासनलाई मुख्य आधार मानेर निर्णय गर्ने मनस्थितिमा देखिएका छन् । अब केही दिनमै हुने मतदानले धनुषा क्षेत्र नं. ४ को राजनीतिक भविष्य तय गर्नेछ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech