दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर, धनुषाले व्यवसायीको गोदाममा प्रवेश गरी ठूलो परिमाणमा सामान नियन्त्रणमा लिएको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ ।
संघले क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयको पश्चिमतर्फ रहेको शिव पार्वती ट्रेडर्स तथा न्यू आयुषी जेनरल स्टोर्सका प्रोप्राइटर शिवशंकर साहको गोदामबाट सामान नियन्त्रणमा लिइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अनुसार २०८३ साल असोज ४ गते आइतबार दिउँसो करिब २ बजे व्यवसायी साह धनुषाको जटहीमा रहेको अवस्थामा सशस्त्र प्रहरीबाट फोन गरी महेन्द्रनगर स्थित गोदाममा उपस्थित हुन भनिएको थियो । साहले आफू करिब एक घण्टाभित्र गोदाममा आइपुग्ने जानकारी गराए पनि उनी गोदाममा पुग्नुअघि नै सशस्त्र प्रहरी मुजेलियाका एसपी भीमबहादुर विष्टको नेतृत्वमा करिब १५० देखि २०० जना सुरक्षाकर्मी तथा जनकपुरधाम भन्सार कार्यालयबाट आएको टोली गोदाममा प्रवेश गरेको संघले जनाएको छ ।
उक्त टोलीले शिव पार्वती ट्रेडर्स तथा न्यू आयुषी जेनरल स्टोर्सको गोदाममा रहेका विभिन्न सामान नियन्त्रणमा लिएर लगेको संघको दाबी छ । संघका अनुसार सामानहरू ठूला करिब तीन वटा ट्रक र पाँच वटा पिकअप भ्यानमा लोड गरी लगिएको थियो । सामान नियन्त्रणमा लिने क्रममा व्यवसायीको रोहवर, सहमति वा हस्ताक्षर नरहेको जानकारी आफूहरूले प्राप्त गरेको संघले जनाएको छ ।
व्यवसायी साह गोदाममा पुग्दा सामानहरू सवारी साधनमा लोड भइरहेको अवस्थामा रहेको र आफूहरूसँग सम्बन्धित सामानको सम्पूर्ण बिल, बिजक तथा आवश्यक कागजात सुरक्षित रहेको भन्दै ती कागजात जाँच गरी कानुनबमोजिम प्रक्रिया अगाडि बढाउन आग्रह गरेको भए पनि आफ्नो अनुरोधलाई बेवास्ता गरी सामान लगिएको व्यवसायीको भनाइ रहेको संघले जनाएको छ ।
संघलाई प्राप्त जानकारी अनुसार गोदामबाट वाटर मेलन सिड्स २०३ बोरा, पार्ले–जी बिस्कुट १२५ कार्टुन, पार्ले–जी चकलेट ८५ कार्टुन तथा भिठ्ठामोड भन्सार कार्यालयबाट लिलाम कबोल गरी ल्याइएको मुद्दा नं. १४९ अन्तर्गतका सम्पूर्ण सामान नियन्त्रणमा लिइएको भनिएको छ ।
व्यवसायीले बिल बिजक तथा अन्य आवश्यक कागजात रहेको दाबी गरिरहेको अवस्थामा सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गोदाममा प्रवेश गरी ठूलो परिमाणमा सामान नियन्त्रणमा लिइएको घटनाले स्थानीय उद्योगी व्यवसायीमा गम्भीर चासो उत्पन्न भएको संघले जनाएको छ ।
संघले सामान प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिइएको हो वा होइन, सामानको स्रोत तथा बिल बिजकको अवस्था के हो र नियन्त्रण तथा बरामद गर्दा कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको जनाएको छ ।
ज्ञापनपत्र मार्फत संघले नियन्त्रणमा लिइएको सम्पूर्ण सामानको बरामदी तथा नियन्त्रण सूची, परिमाण, मूल्य, स्रोत र कानुनी आधार स्पष्ट गर्न माग गरेको छ । साथै घटनासम्बन्धी सुरक्षा निकाय तथा भन्सार कार्यालयबाट आवश्यक विवरण झिकाई निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ ।
त्यसैगरी व्यवसायीले पेश गर्न चाहेको बिल, बिजक, भन्सारसम्बन्धी कागजात तथा अन्य प्रमाण जाँच गरी कानुनबमोजिम निर्णय गर्न, सामान नियन्त्रणमा लिँदा अपनाइएको प्रक्रिया तथा व्यवसायीको रोहवरमा हस्ताक्षर नराखिएको विषयमा समेत छानबिन गर्न संघले माग गरेको छ ।
कागजातका आधारमा सामान वैध रहेको पुष्टि भएमा कानुन बमोजिम सम्बन्धित व्यवसायीलाई सामान फिर्ता गर्ने व्यवस्था मिलाउन समेत संघले जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेको छ ।
संघले छानबिन तथा कारबाहीका क्रममा उद्योगी व्यवसायीको कानुनी तथा संवैधानिक अधिकारको संरक्षण गर्दै निष्पक्ष व्यवहार सुनिश्चित गर्न र आगामी दिनमा व्यवसायीका गोदाम तथा प्रतिष्ठानमा हुने जाँच, अनुगमन वा नियन्त्रणको कार्य प्रचलित कानुन तथा निर्धारित प्रक्रियाबमोजिम मात्र गर्न माग गरेको छ ।
यसका साथै उद्योगी व्यवसायीको प्रतिष्ठानमा चेकजाँच गर्न आउँदा उद्योग वाणिज्य संघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ ।
क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघले घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक छानबिन तथा सम्बन्धित निकायसँग समन्वय गरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय धनुषासमक्ष अनुरोध गरेको जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग