महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडी स्थित श्री माध्यमिक विद्यालय कुम्हरौल रमदैया भवाडीमा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयमा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर आयोजना गरिएको उक्त भेलाले विद्यालयको शैक्षिक सुधारको दिशामा महत्वपूर्ण बहस अघि बढाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिस यादवको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका स्थानीय नेता तथा अभिभावकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुखदेव यादवले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न समयानुकूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै अंग्रेजी माध्यमको सुरुवातले विद्यार्थीलाई प्रतिस्पर्धात्मक र सक्षम बनाउने विश्वास व्यक्त गरे । उनले नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन आवश्यक नीतिगत तथा व्यावहारिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । “सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन गुणस्तरीय शिक्षा अनिवार्य छ, त्यसका लागि यस्ता नयाँ पहल अत्यन्त आवश्यक छन्,” उनले भने ।
त्यसैगरी वडा नम्बर २ का अध्यक्ष देवु यादवले विद्यालयको समग्र विकासमा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउँदै नियमित संवाद र सहकार्यको खाँचो औंल्याए । उनले विद्यालयलाई नमुना बनाउन स्थानीय तहबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि बताए । विद्यालय व्यवस्थापन समिति सदस्य संजय मण्डलले पछिल्लो समय विद्यालयमा भएका सुधारका प्रयासहरूबारे जानकारी गराउँदै भौतिक पूर्वाधार, शिक्षण पद्धति तथा अनुशासनमा सुधार ल्याउने काम भइरहेको बताए । उनले अभिभावकबाट प्राप्त सुझावलाई योजनाबद्ध रूपमा कार्यान्वयन गरिने पनि स्पष्ट पारे । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने निर्णयलाई स्वागत गरेका थिए । उनीहरूले पछिल्लो समय विद्यालयमा देखिएको सुधारप्रति सन्तुष्टि व्यक्त गर्दै शिक्षण सामग्री, शिक्षकको दक्षता, अनुशासन तथा नियमित अनुगमनमा अझ ध्यान दिनुपर्ने सुझाव दिएका थिए । केही अभिभावकहरूले विद्यार्थीको नियमित उपस्थिती, शैक्षिक वातावरण र अतिरिक्त क्रियाकलापको विस्तारमा जोड दिएका थिए । उक्त भेलामा लालिगुराँस क्लबका उपाध्यक्ष, जनमत पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता, समाजसेवी लगायतको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अनुसार नगरपालिकाभित्र पहिलो पटक यस विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने तयारी गरिरहेको छ, जसले स्थानीय स्तरमै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने आधार तयार पार्ने अपेक्षा गरिएको छ । यद्यपि, अभिभावक भेलाका लागि करिब तीन दिनअघिदेखि सूचना प्रसारण गरिए पनि अपेक्षाकृत न्यून सहभागिता भएकोप्रति विद्यालय व्यवस्थापन समितिले दुःख व्यक्त गरेको छ । समितिले आगामी दिनमा अभिभावकहरूको सहभागिता वृद्धि गर्न थप प्रभावकारी सूचना प्रवाह र समन्वय गर्ने योजना बनाएको जनाएको छ । कार्यक्रमले विद्यालयको भावी शैक्षिक दिशाबारे स्पष्ट मार्गचित्र तय गर्ने आधार तयार पारेको आयोजकहरूको विश्वास रहेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech