महेन्द्रनगर, धनुषा माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा एकैपटक परीक्षा सञ्चालन भएको हो । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने सम्पूर्ण परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरेका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन् । यस वर्ष परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना सहभागी हुनेछन्। साथै जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन् । परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक केन्द्रमा १५ जना प्रहरी खटाइएको छ भने एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी तथा अन्य दुई कर्मचारी व्यवस्थापन गरिएको छ । यस वर्ष एसईई परीक्षामा सामूहिक अनुगमनमा रोक लगाइएको छ । परीक्षा केन्द्रमा अनावश्यक भीडभाडका कारण परीक्षार्थीको लेखन कार्य प्रभावित भएको गुनासोपछि यस्तो निर्णय गरिएको हो। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । तालिका अनुसार चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान र २४ गते सामाजिक विषयको परीक्षा हुनेछ। त्यसपछि २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय तथा चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण सम्बन्धित केन्द्रबाटै गरिने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech