महेन्द्रनगर, धनुषा सडकमा आन्दोलनदेखि आवाज उठाउनेसम्मका हरेक गतिविधिमा युवाको भूमिका महत्वपूर्ण भए पनि निर्णय तहमा उनीहरूलाई पछि पारिएको भन्दै नेकपा एमालेका नगर अध्यक्ष अनिल कुमार चौधरीले गम्भीर प्रश्न उठाएका छन् । नगर अध्यक्ष चौधरीले आफू पार्टीकै जिम्मेवार सदस्य भएर यो विषय उठाएको स्पष्ट पार्दै यो विरोध नभई जिम्मेवार प्रश्न भएको बताएका छन् । उनका अनुसार पार्टीले युवालाई केवल नारामा सीमित नराखी नेतृत्व तहमा समेत अवसर दिनुपर्ने समय आएको छ । उनले भने, “सडकमा आन्दोलन गर्न युवा चाहिन्छ, आवाज उठाउन युवा चाहिन्छ, छाती थापेर अगाडि उभिन पनि युवा नै चाहिन्छ, तर निर्णय गर्ने ठाउँमा पुग्दा किन त्यही युवालाई पछाडि धकेलिन्छ?” चौधरीले आजको पुस्तालाई बेवास्ता गरेर भोलिको बलियो पार्टी निर्माण सम्भव नरहेको उल्लेख गर्दै युवालाई नीति निर्माणको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । उनले युवालाई प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै अब अवसर प्रदान गरेर उनीहरूलाई नेतृत्वमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए । “यदि अहिले पनि यो कुरा नबुझ्ने हो भने समस्या बाहिर होइन, पार्टीभित्रै रहेको स्वीकार गर्नुपर्छ,” उनले भने । अन्त्यमा उनले युवालाई अवसर दिएर मात्रै पार्टीको भविष्य सुरक्षित हुने धारणा राख्दै सम्पूर्ण नेतृत्वलाई यसतर्फ गम्भीर बन्न आग्रह गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech