महेन्द्रनगर, धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको प्राङ्गनमा आयोजना गरिएको २४ कुण्डीय राष्ट्र जागरण गायत्री महायज्ञ मंगलबार विधिवत रूपमा सम्पन्न भएको छ ।
धार्मिक आस्था, श्रद्धा र उत्साहले भरिएको वातावरणमा पाँच दिनसम्म निरन्तर सञ्चालन भएको महायज्ञले स्थानीय स्तरमा आध्यात्मिक जागरण र सामाजिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
महायज्ञको सुरुवात पहिलो दिन भव्य कलश यात्राबाट गरिएको थियो । करिब ११ सयभन्दा बढी श्रद्धालु महिलाहरूले कलश बोकेर महेन्द्रनगर क्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए । उक्त कलश यात्राले सम्पूर्ण क्षेत्रलाई भक्तिमय वातावरणमा परिणत गरेको थियो । सोही दिन साँझ युग संगीत, कथा प्रवचन तथा भजन–कीर्तन कार्यक्रमले उपस्थित भक्तजनहरूलाई आध्यात्मिक आनन्द प्रदान गरेको थियो ।
चैत्र १४ गते देखि विधिवत रूपमा देवपूजन, यज्ञ प्रारम्भ तथा विभिन्न धार्मिक संस्कारहरू सञ्चालन गरिएको थियो । दैनिक रूपमा हवन, पूजा, जप तथा धार्मिक अनुष्ठानहरू सम्पन्न गरिनुका साथै साँझको समयमा प्रज्ञापुराण कथा वाचन, युग संगीत तथा आध्यात्मिक प्रवचन कार्यक्रम सञ्चालन गरिएको थियो । कथावाचकहरूले धर्म, संस्कार, नैतिकता र राष्ट्रप्रेमका विषयमा प्रवचन दिँदै उपस्थित श्रद्धालुहरूलाई सकारात्मक सन्देश प्रवाह गरेका थिए ।
चैत्र १५ र १६ गते महायज्ञ अझ बढी आकर्षक बनेको थियो । निरन्तर यज्ञ, हवन तथा सामूहिक पूजा कार्यक्रमले भक्तजनहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको थियो । विशेषगरी चैत्र १६ गते साँझ आयोजना गरिएको दीपयज्ञ कार्यक्रममा हजारौं दीप प्रज्वलन गरिँदा महायज्ञ स्थल उज्यालोमय बनेको थियो, जसले धार्मिक वातावरणलाई थप प्रभावशाली बनाएको थियो ।
महायज्ञको अन्तिम दिन चैत्र १७ गते “राष्ट्र निर्माणमा युवाहरूको भूमिका” विषयमा युवा उत्कर्ष सम्मेलन तथा वक्तृत्व प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै राष्ट्र निर्माणमा युवाको जिम्मेवारी, शिक्षा, अनुशासन र नेतृत्वका विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए । उत्कृष्ट वक्ताहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।
समापन समारोहका अवसरमा महायज्ञ सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । साथै हरिद्धारबाट आएका कथावाचक तथा धार्मिक गुरुहरूलाई सम्मानपूर्वक विदाई गरिएको थियो ।
महायज्ञ समापन सत्रमा सल्लाहकार मित लाल गिरी तथा समितिका अध्यक्ष इश्वरी प्रसाद अधिकारीको नेतृत्वमा उपाध्यक्ष जयनाथ ठाकुर, सचिव विनय साह, कोषाध्यक्ष हरी प्रसाद काफ्ले तथा सदस्यहरू शम्भु ठाकुर, दीपक साह, गीता सिंह, कल्याणी साह, अनिल महतो, केशव लाल सिंह र अमरनाथ ठाकुर लगायतका सक्रिय व्यक्तिहरूलाई विशेष सम्मान गरिएको थियो ।
आयोजक समितिका अनुसार महायज्ञमा स्थानीयवासी, विभिन्न संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहयोग र सहभागिता रहेको थियो । महायज्ञ अवधिभर हजारौं श्रद्धालुहरूले दर्शन, पूजाआजा तथा कथा श्रवण गरेका थिए ।
यस महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा नैतिक मूल्य, संस्कार, सद्भाव र एकताको भावना सुदृढ गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गरिएको छ ।
साथै युवाहरूलाई सकारात्मक दिशातर्फ उन्मुख गराउँदै राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकहरूको भनाइ रहेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग