महेन्द्रनगर,धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको प्राङ्गनमा आउँदो चैत्र १३ गतेदेखि सुरु हुने २४ कुण्डीय राष्ट्रजागरण गायत्री महायज्ञको तयारी तीव्र पारिएको छ । धार्मिक आस्था, श्रद्धा र उत्साहले भरिएको वातावरणमा महायज्ञको सम्पूर्ण व्यवस्थापन अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
अखिल विश्व गायत्री परिवार शान्तिकुञ्ज हरिद्वारको तत्वावधानमा आयोजना हुन लागेको राष्ट्रजागरण गायत्री महायज्ञ तथा श्रीमद् पावन प्रज्ञापुराण कथा कार्यक्रमका लागि चैत्र ७ गते विधिवत भूमिपूजन सम्पन्न भइसकेको छ । त्यसयता यज्ञस्थल निर्माण, व्यवस्थापन तथा सहभागी व्यवस्थापनका कार्यहरू तीव्र रूपमा अगाडि बढाइएका छन् ।
गायत्री महायज्ञ कार्य समितिको अध्यक्षमा इश्वरी प्रसाद अधिकारी रहेका छन् भने उपाध्यक्षमा जयनाथ ठाकुर, सचिवमा विनय साह र कोषाध्यक्षमा हरी प्रसाद काफ्ले रहेका छन् । सदस्यहरूमा शम्भु ठाकुर, दिपक साह, गीता सिंह, कल्याणी साह, अनिल महतो, केशव लाल सिंह र अमरनाथ ठाकुरको सक्रिय सहभागिता रहेको छ ।
महायज्ञ अन्तर्गत विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू तय गरिएको छ । कार्यक्रमको पहिलो दिन चैत्र १३ गते बिहान ८ बजे भव्य शोभा कलश यात्रा नगर परिक्रमा सहित आयोजना गरिनेछ । सोही दिन साँझ ५ बजे युग संगीत, कथा प्रवचन तथा भजन–कीर्तन कार्यक्रम हुनेछ ।
चैत्र १४ गते बिहान देवपूजन, यज्ञ प्रारम्भ तथा विविध धार्मिक संस्कारहरू सञ्चालन गरिनेछन् भने साँझ प्रज्ञापुराण कथा वाचन र युग संगीत कार्यक्रम हुनेछ । त्यस्तै, चैत्र १५ गते यज्ञ, हवन तथा विविध संस्कार कार्यक्रमसँगै साँझ आध्यात्मिक प्रवचन र कथा वाचन गरिनेछ ।
चैत्र १६ गते बिहान निरन्तर यज्ञ, संस्कार तथा सामूहिक पूजा कार्यक्रम सञ्चालन हुनेछ भने साँझ विशेष रूपमा दीपयज्ञ सहित कथा प्रवचन गरिनेछ, जसले धार्मिक वातावरणलाई अझ उजागर गर्ने विश्वास गरिएको छ ।
महायज्ञको अन्तिम दिन चैत्र १७ गते बिहान ९ बजे युवा उत्कर्ष सम्मेलन आयोजना गरिनेछ, जसमा युवाहरूको सक्रिय सहभागिता र प्रेरणादायी कार्यक्रमहरू समेटिनेछन् । सोही दिन टोली बिदाइसँगै महायज्ञको औपचारिक समापन गरिने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार महायज्ञ अन्तर्गत सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण स्थानीय मिडिया दुधमती टेलिभिजनबाट गरिने व्यवस्था मिलाइएको छ, जसले घरमै बसेर पनि श्रद्धालुहरूलाई कार्यक्रम अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।
आयोजकले यस महायज्ञमार्फत समाजमा नैतिक, आध्यात्मिक तथा सांस्कृतिक जागरण ल्याउने विश्वास व्यक्त गरेका छन् भने स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग