महेन्द्रनगर,धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–महेन्द्रनगर स्थित गंगोत्री बोडिङ्ग स्कुलमा ‘उद्गम विन्दु लोक सेवा कोचिङ्ग सेन्टर’ सञ्चालनमा आउने भएको छ । स्थानीय स्तरमै गुणस्तरीय तयारी कक्षा सञ्चालन गर्ने उद्देश्यले कोचिङ्ग सेन्टर सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।
कोचिङ्ग सेन्टर सञ्चालन सम्बन्धी कार्यक्रम गंगोत्री बोडिङ्ग स्कुलका सञ्चालक गणेश साहको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
आयोजकका अनुसार उक्त कोचिङ्ग सेन्टरमार्फत लोकसेवा आयोग अन्तर्गतका विभिन्न पदहरूका लागि तयारी कक्षा सञ्चालन गरिनेछ । जस अन्तर्गत नायब सुब्बा, खरिदार, महिला विकास निरीक्षक, मानव अधिकार आयोग सम्बन्धी तयारी तथा शिक्षक सेवा आयोग अन्तर्गत प्रा.वि. र निमावि तहका लाइसेन्स र परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ ।
यसका साथै विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा ८, ९ र १० का लागि समेत विशेष कोचिङ्ग कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ । आधुनिक शिक्षण विधि र अनुभवी प्रशिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।
स्थानीय विद्यार्थीहरूलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै क्षेत्रमै प्रतिस्पर्धात्मक परीक्षा तयारीको अवसर प्रदान गर्ने उद्देश्यले कोचिङ्ग सेन्टर स्थापना गर्न लागिएको बताइएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग