महेन्द्रनगर, धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैया भवाडी स्थित विच गाउँमा श्री श्री १०८ श्री राम नाम महायज्ञ फाल्गुण २५ गतेदेखि भव्य कलश यात्रासहित विधिवत रूपमा सुरु भएको छ । धार्मिक आस्था र परम्परालाई जोगाउने उद्देश्यले आयोजना गरिएको महायज्ञले अहिले गाउँभरि नै रामनामको माहोल सिर्जना गरेको छ ।
महायज्ञ सुरु हुने दिन विभिन्न टोलबाट सयौं महिला–पुरुष श्रद्धालुहरू सहभागी भई कलश यात्रा निकालिएको थियो । गाउँको विभिन्न स्थानको परिक्रमा गर्दै कलश यात्रा महायज्ञ स्थलमा पुगेपछि वैदिक मन्त्रोच्चारणसहित पूजाआजा गरेर महायज्ञको औपचारिक शुभारम्भ गरिएको आयोजक समितिले जनाएको छ ।
स्थानीयवासीको सक्रियता तथा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ का जनप्रतिनिधिहरूको विशेष सहयोगमा महायज्ञ आयोजना गरिएको हो । महायज्ञ सञ्चालनका लागि नगरपालिकाका नगर प्रमुखले समेत सहयोग गरेको वडा नम्बर २ का वडा अध्यक्ष देवु यादवले जानकारी दिए ।
उनका अनुसार महायज्ञ स्थलमा भव्य मण्डप (मडवा) निर्माण गरी दैनिक रूपमा रामनाम संकीर्तन, रामायण पाठ, भजन–कीर्तन तथा मालाजाप जस्ता धार्मिक कार्यक्रम सञ्चालन भइरहेको छ । “धार्मिक संस्कार जोगाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । यहाँ दैनिक रूपमा श्रद्धालुहरूको उल्लेख्य सहभागिता देखिएको छ,” वडा अध्यक्ष यादवले भने ।
महायज्ञमा सहभागी भई कीर्तन गर्ने कीर्तनी मण्डली, मालाजाप गर्ने तथा रामायण पाठ गर्ने गरी करिब ८२ जनालाई वडा नम्बर २ का अध्यक्ष देवु यादवको पहलमा पिताम्बरी धोती, कुर्ता र गम्छा वितरण गरिएको उनले बताए । यसले धार्मिक कार्यक्रममा सहभागी व्यक्तिहरूलाई थप उत्साह प्रदान गरेको आयोजकहरूको भनाइ छ ।
महायज्ञ सुरु भएसँगै रमदैया भवाडी क्षेत्र अहिले पूर्ण रूपमा धार्मिक वातावरणमा डुबेको देखिन्छ । बिहानदेखि नै रामनाम जप, भजन–कीर्तन र धार्मिक प्रवचन सञ्चालन हुने गरेको छ भने साँझपख मडवाको परिक्रमा गर्न आउने श्रद्धालुहरूको भिडभाड उत्तिकै देखिने गरेको स्थानीयहरू बताउँछन् ।
स्थानीय बासिन्दा रामप्रसाद यादवका अनुसार महायज्ञले गाउँमा धार्मिक एकता र सद्भाव बढाएको छ । “गाउँमा यति ठूलो धार्मिक कार्यक्रम भएपछि सबै जनामा उत्साह छ । बिहानदेखि साँझसम्म रामनाम, भजन–कीर्तन सुन्न पाइन्छ, जसले गाउँलाई नै धार्मिकमय बनाएको छ,” उनले भने ।
त्यस्तै अर्का स्थानीय सीता देवी यादवले पनि महायज्ञले गाउँको वातावरण पवित्र बनाएको बताइन् । “महिलाहरू पनि ठूलो संख्यामा सहभागी भइरहेका छन् । हामीले दैनिक रूपमा पूजा, कीर्तन र परिक्रमा गरिरहेका छौं,” उनले भनिन् ।
आयोजक समितिका अनुसार महायज्ञ आगामी चैत्र ४ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञको अन्तिम दिन विशेष पूजाआजा, भजन–कीर्तन तथा साधु–सन्तलाई भण्डारा खुवाएर कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।
महायज्ञ सञ्चालनका लागि स्थानीय दाताहरू तथा श्रद्धालुहरूको उल्लेख्य आर्थिक तथा भौतिक सहयोग प्राप्त भइरहेको आयोजकहरूले बताएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण कार्यक्रमको तयारीमा केही असर परेको भए पनि स्थानीयको साथ र सहयोगका कारण महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्नेमा आयोजकहरू विश्वस्त रहेको बताएका छन् ।
धार्मिक तथा सामाजिक सद्भावलाई मजबुत बनाउने विश्वासका साथ सुरु गरिएको यो महायज्ञमा आगामी दिनहरूमा अझ बढी श्रद्धालुहरूको सहभागिता बढ्ने अपेक्षा गरिएको आयोजक समितिको भनाइ छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग