महेन्द्रनगर, धनुषा धनुषा क्षेत्र नं. ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरमा नेपाली कांग्रेसको नगर स्तरीय भेला सम्पन्न भएको छ । आगामी प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै उक्त भेला आयोजना गरिएको हो । भेला क्षिरेश्वरनाथ नगरपालिकाका नगर अध्यक्ष लाल बाबु यादवको अध्यक्षतामा तथा नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महेन्द्र यादवले आगामी निर्वाचन लोकतन्त्रको सुदृढीकरणका लागि निर्णायक हुने बताउनुभयो । उहाँले कांग्रेस पार्टी जनताको अधिकार, विकास र समावेशी लोकतन्त्रको पक्षमा निरन्तर उभिँदै आएको उल्लेख गर्दै भन्नुभयो यो चुनाव केवल व्यक्ति जित्ने वा हार्ने विषय होइन, यो जनताको भविष्यसँग जोडिएको चुनाव हो । त्यसैले सबै कार्यकर्ता एकताबद्ध भएर घर–घरमा कांग्रेसको एजेन्डा पु¥याउन जरुरी छ । भेलाका अध्यक्ष तथा नगर अध्यक्ष लाल बाबु यादवले संगठन मजबुत बनाउन वडा तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो वडा तहबाटै संगठन बलियो भए मात्रै चुनावमा अपेक्षित सफलता हासिल गर्न सकिन्छ । सबै कार्यकर्ताले अनुशासन र एकताका साथ पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियारले कांग्रेस पार्टी जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै संगठन विस्तार र कार्यकर्ता परिचालनमा जोड दिनुभयो । उहाँले भन्नुभयो जनताको सुख–दुःखमा सधैं साथ दिने पार्टी कांग्रेस हो । आगामी निर्वाचनमा त्यसको पुष्टि हुने गरी हामी सबै मैदानमा खटिनुपर्छ । भेलामा धनुषा क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न वडाका वडा सभापतिहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी, प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । भेला अन्त्यमा आगामी दिनमा वडा तथा टोल स्तरमा थप कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech